TagaroNews
तिलिचो ताल पुग्यो बिजुली  

मनाङ – नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ ।

तिलिचो ताल समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा छ । नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखी तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको हो । 

केही दिनदेखि सौर्य प्यानल व्यवस्था गरी तिलिचो तालमा बिजुली बालिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए । बिजुली पुगेपछि तिलिचो पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको महतोले उल्लेख गरे ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प) सम्म भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ ।

बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पबाट ताल पुग्न करिब ३ घण्टा हिँड्नु पर्छ । ताल वरिपरि बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति व्यवस्था गरिएको महतोले बताए ।

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ । काठमाण्डौबाट लमजुङ बेसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ । 

खाङसारबाट तारे गुम्बा र श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदल यात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट झन्डै तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update