TagaroNews
लमजुङ कारागारः जीर्ण पर्खाल भत्कियो, असुरक्षासँगै कैदीबन्दी सारियो

लमजुङ – बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढेको भन्दै कारागारका सबै कैदी र थुनुवालाई तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको छ ।

६ महिलासहित १ सय ९ जना कैदी र थुनुवालाई स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ।

कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एक मात्र ढोका (गेट) नजिकैको पर्खाल वर्षाका कारण बुधबार भत्किएको हो । गेटसमेत भत्किने अवस्थामा पुगेपछि असुरक्षा महसुस गर्दै शनिबार कैदी र थुनुवालाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए । 

कारागार कार्यालय तनहुँ, दमौलीमा ३१ जना र कारागार कार्यालय कास्की, पोखरामा ७८ जना कैदी र थुनुवा पठाइएको कारागार प्रशासक बेनीबहादुर मोक्तानले बताए । 

पुरुष कैदी र थुनुवालाई ४ वटा ठूला बस र महिला कैदी तथा थुनुवालाई एउटा माइक्रोबसमा राखेर सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्कर्टिङ सहित दमौली र पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले बताए ।

कारागार पर्खाल मर्मतका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए । 

२०२८ सालमा निर्माण गरिएको यस कारागारको हालसम्म पूर्णरूपमा मर्मत सम्भार हुन सकेको छैन । कारागारको करिब ३ मिटर पर्खाल भत्किएको छ ।

१० जना महिला र २५ जना पुरुष गरी ३५ जना क्षमताको कारागार भए पनि जिल्ला कारागारमा तेब्बर बढी कैदी र थुनुवा रहँदै आएका छन् । 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update