
काठमाडौं – प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो ।
संघीय संसद्बाट पारित भएर गएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन १४ गते प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरण भएसँगै प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ मा संशोधन भएको छ । जसले प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको छ ।
२०४९ सालमा ऐन बनाएर तत्कालीन व्यवस्थापिका संसद्मार्फत प्रधानमन्त्री, उपप्रधानमन्त्री, राज्यमन्त्री सहायकमन्त्रीको पारिश्रमिक र सेवा–सुविधा तोकिएको थियो । उक्त ऐनमा संशोधन गर्दै सरकारले मन्त्रिपरिषद्ले नै प्रधानमन्त्री र मन्त्रीको तलब तय गर्ने व्यवस्था गरेको हो ।
मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०४९ को दफा ३ मा प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक कति हुने प्रष्ट व्यवस्था छ । जसमा प्रधानमन्त्रीको मासिक तलब ९ हजार, उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायकमन्त्रीको ५ हजार ८ सय हुने उल्लेख छ ।
प्रचलित ऐनमा संशोधन हुने गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब र सेवा–सुविधा कति हुने किटान गरिएको छैन । नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको पारिश्रमिक पाउने भनिएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरूलाई ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको पारिश्रमिक मन्त्रीहरूलाई दिने’ प्रावधान संशोधित ऐनमा राखिएको छ । यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब प्रधानमन्त्री र मन्त्रीहरूको तलबबारे सरकारले जुनसुकै बेला मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिन सक्ने बाटो खुलेको छ ।
विगतमा ऐन संशोधन नहुँदा सरकारले कार्यसञ्चालन ऐन निर्देशिका मार्फत् प्रधानमन्त्री र मन्त्रीहरुको सेवा, सुविधा र पारिश्रमिक पुनरावलोकनबारे निर्णय गर्दै आएको थियो ।
पछिल्लो पटक सरकारले २०७७ साल माघ २२ गते प्रधानमन्त्री र मन्त्रीहरूको तलब र सेवा–सुविधा पुनरावलोकन गरेको थियो । कार्य सञ्चालन निर्देशिका २०७७ आठौं संस्करणमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको पारिश्रमिकको व्यवस्था प्रकाशित छ । जो २०७७ साल माघ २२ गते स्वीकृत भएको थियो ।
अब संशोधित ऐन अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले आफूहरूको तलब के कति गर्ने भनेर मन्त्रिपरिषद्मार्फत आफैँ नयाँ निर्णय गर्न सक्दछन् ।
कार्य सञ्चालन निर्देशिकामार्फत संशोधन वा पुनरावलोकन हुँदै आएको अभ्यासलाई सरकारले मन्त्रिपरिषद्मै सारेको हो । अर्थात्, अब मन्त्रिपरिषद्बाट निर्णय गराएर राजपत्रमा सूचना प्रकाशन गरी प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पारिश्रमिक र सुविधा आफैँ तोक्न सक्नेछन् ।
हालको तलब तथा सुविधा (२०७७ अनुसार):
- प्रधानमन्त्री: मासिक ९४,२८० (पारिश्रमिक ७७,२८०, महँगी भत्ता २,०००, सञ्चार ५,०००, मसलन्द १०,०००), ३०६ लिटर पेट्रोल, ३४ कर्मचारी, दैनिक भ्रमण भत्ता ३,०००।
- उपप्रधानमन्त्री: मासिक ८४,६४०, ३०६ लिटर पेट्रोल, ८ कर्मचारी।
- मन्त्री: मासिक ७९,२३० (मसलन्द ३,५००, महँगी भत्ता १,०००, सञ्चार ३,०००), २०७ लिटर पेट्रोल, ७ कर्मचारी।
- राज्यमन्त्री: मासिक ७५,०३०, २०० लिटर पेट्रोल, ७ कर्मचारी।