
लमजुङ - पहिरोमा परि लमजुङमा एक जनाको मृत्यु भएको छ भने, ३ जना गम्भीर घाईते छन् ।
मर्स्याङ्दी गाउँपालिका–६ स्थित सुपर न्यादी जलविद्युत् आयोजनाको कामदार बस्ने क्याम्पमा माथि बाट आएको पहिरोमा परि आयोजनामा कार्यरत बेसीशहर नगरपालिका–१०, रातामाटाका ४४ बर्षीय लगनध्वज गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
न्यादीखोलामा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको आयोजनाका कामदारहरु शनिबार दिउँसो ३ बजे क्याम्पमा खान खाने बेला एक्कासी भीरबाट पहिरो झरेको थियो । पहिरो खस्दा भाग्ने क्रममा ढुङ्गाले लागेर सोहि आयोजनामा कार्यरत अन्य ३ जना गम्भीर घाईते भएका छन् ।
गम्भीर घाइते हुनेमा मध्यनेपाल नगरपालिका–७ बस्ने ३२ बर्षीय भिम बहादुर तामाङ, दोर्दी गाउँपालिका–५ बस्ने २२ बर्षीय विराज गुरुङ र प्युठान जिल्लाको झिम्रुक गाउँपालिका–६ घर भएका २५ बर्षीय विकास विष्ट छन् । घाइतेहरुको टाउको, हातखुट्टा, ज्यानमा चोट लागेको छ ।
घाईतेहरुको प्रदेश अस्पताल लमजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले बताए ।
घट्नास्थलमा बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी खटिएका थिए । प्रहरीसहित कामदारहरुले ४ जनाको उद्धार गरेकोमा गुरुङ मृत अवस्थामा भेटिएका थिए ।
क्याम्पमा ४० जनाको हाराहारीमा कामदारहरु बस्दै आएका थिए । अन्य ३६ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।