TagaroNews
क्यानडा पठाउने भन्दै लमजुङका युवाहरुसँग करोडौं ठगी 
तस्वीरमा देव्रेतर्फबाट क्रमशः राजकुमार गुरुङ, आशिष गुरुङ र सविर गुरुङ ।

लमजुङ – स्पोन्सर भिसामा क्यानडा पठाउने भन्दै ठगी गर्ने एक गिरोह समूहले लमजुङका धेरै युवाहरुलाई ठगेको पाइएको छ । क्यानडा पठाउने प्रलोभन देखाएर ५० भन्दा बढी युवाहरूसँग करोडौँ रकम ठगी गरेर सो समूह सम्पर्कबिहिन बनेको हो ।

ठगीमा संलग्नहरु हुन, गोरखा जिल्लाको अजिरकोट गाउँपालिका १, घ्याच्चोक बस्ने २८ बर्षीय आशिष गुरुङ, गोरखाकै करिब ३१ बर्षीय राजकुमार गुरुङ र सविर गुरुङ ।

ठगी समूह अन्तर्गत राजकुमार गुरुङ यो गिरोहको नाइके हुन् । उनले आफु क्यानडाबाट आएको र आफ्नै मित्ज्यु मार्फत स्पोन्सर भिसामा क्यानडा पठाउने गरेको सुनाएपछि क्यानडा जान पाउने भन्दै धेरै युवाहरुले उनीसँग भेट गरे । 

लमजुङका युवक गुरुङले भने, ‘राजकुमारले आफनो नाम सुरुमा आशिष बताए । यसअघि पनि धेरैलाई यसै भिसामार्फत विभिन्न मुलुक पठाएको दावि गरेपछि, युवाहरुको समूहले स्पोन्सर भिसामा क्यानडा जाने निर्णय गरे । सोहि अनुसार रकम र कागजात जुटाउन लागे ।’

उनले भने, ‘सूरुमा आवश्यक कागजात सहित युवाहरुले राजकुमार (आशिष नाम बताउने)लाई ४–४ लाखका दरले रकम बुझाए । सो रकम बुझाएको केहि समय पश्चात कोटा थपिएको भन्दै पछिल्लो कोटामा जानेले ६ लाख बुझाउनुपर्ने भयो । पछिल्लो कोटामा विश्वास गरेका युवाहरुले ६–६ लाख रुपैँया सहित कागजात बुझाए ।’

कागजात र रकम बुझाएका यूवाहरुलाई राजकुमार (आशिष बताउने) ले आशिष गुरुङको नाममा रहेको चेक दिए । भिसा अन्तवार्ताका लागी भारत जाने र केहि समयमै समूह–समूहमा क्यानडा पठाउने भन्नेमा यूवाहरु ढुक्क थिए । 

राजकुमार गुरुङले नेपाल सरकारको श्रम स्वीकृती नै लिएर यो काम गरेको बताउने लमजुङका अर्का युवा राम गुरुङले सुनाए । उनले भने, ‘राजकुमारले सुरुमा एस.वि.आइ.बैँकले लाग्ने रकम कर्जा दिने र कर्जा नतिरेसम्म तलबबाट रकम काटिने भन्ने नियम सुनाए । सोहि अनुसार कर्जा सक्किएपछि आफ्नो पासपोर्ट पाउने र आफुले क्यानडामा आफुखुसी काम गर्न पाउने नियम रहेको भन्ने बताएपछि युवाहरु क्यानडा जान उक्सिएका थिए ।’

२०८० साल बैशाखमा रकम र कागजात बुझाएपनि भिसा आउने आसमा त्यो साल तेत्तिकै बित्यो । केहि युवाहरुले २०८० पुषमा कोटा थपिएको भन्दै रकम र कागजात बुझाए । केहि महिनामै भिसा लाग्ने भन्दै सो गिरोहले युवाहरुलाई दिन, महिना र बर्ष गर्दै लामो समय झुलायो । अहिले सम्पर्क बिहिन छन् । 

यसरी रकम र कागजात बुझाउनेमा लमजुङका यो प्रसाद गुरुङ, नरेश गुरुङ, सुरज पौडेल, राम गुरुङ, अभिषेक घले, कुल प्रसाद गुरुङ, गोविन्द पाण्डे, सुरेश सुनार, मनपुरी गुरुङ लगाएत, केहि सरकारी कर्मचारी र जनप्रतिनिधि सहित ५० भन्दा बढी युवाहरु छन् । गिरोह मार्फत उपलब्ध भएको बैँक खाताको चेकमा रकम नभएपछि केहिले प्रहरीमा उजुरी समेत दिएका छन् । 

राजकुमार गुरुङले ९७६१७८४१३० र अर्का आशिष गुरुङले ९७५६५४४४६६ नम्बर प्रयोग गर्ने गरेको र सोहि नम्बरको ह्वाट्सएप र फोन मार्फत युवाहरुसँग सम्पर्कमा रहने गरेका थिए । युवाहरुलाई प्रलोभन देखाएर ठग्ने यस्ता गिरोहबाट अन्य युवाहरुलाई सजक रहन र प्रहरी प्रशासनले समेत सुस्म रुपमा खोजी र अनुसन्धान गरिदिन युवाहरुले आग्रह समेत गरेका छन् । 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update