TagaroNews
प्रचण्ड लमजुङ आएर भने : माओवादी भ्रष्टाचारीको पक्षमा छैन

लमजुङ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने परम्परा अब तोड्न आवश्यक रहेको बताएका छन् । उनले माओवादी भ्रष्टाचारीको पक्षमा नरहेको समेत स्पष्ट पारे ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत लमजुङ आइपुगेका प्रचण्डले सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाका विरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिको लडाई लडेको स्मरण गर्दै माओवादी र (दलाल, नोकरशाही र बिचौलिया) सँगै रहन नसक्ने बताए  । 

प्रचण्डले भने, “राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला ? ६४ मा जस्तै मत हामीलाई एक पटक दिनुस्। हामी सुसासन र सामाजिक न्याय दिन्छौं। आत्मआलोचना र आत्मसमिक्षा सहित भनेको छु । अब फेरि एक पटक सेवा गर्ने मौका दिनुस्, लमजुङका जनतालाई विकास र समृद्धि दिने संकल्प गर्दछु।”

"भ्रष्टाचार पार्टीहरूमा, सरकार र ब्युरोक्रेसीमा देखिएपछि हामीले सरकारमै रहेर सुसासनको अभियान चलाएका थियौं। मिटर्ब्याज पीडितलाई न्याय दिनेगरी पहिलोपटक ऐन बनाएर समाधानको बाटो खोल्यौं,” उनले स्मरण गरे ।

उनले सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत राष्ट्रिय हितमा काम गरेको उल्लेख गरे ।

प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत बैतडीदेखि लमजुङसम्म आइपुग्दा भेटिएका समस्या समाधानका लागि पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

लमजुङको भाेटेवडारमा आयोजित जनजागरण अभियान अन्तर्गतको जनसंवाद कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको उपाध्यक्ष महासचिव लगायतको टोली सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update