
लमजुङ – सदरमुकाम बेसीशहरमा रहेको प्रदेश अस्पताल लमजुङमा २ महिने शिशुको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल र पिडित पक्षविच द्धन्द सिर्जना भएको छ ।
शनिबार बिहान मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेकी दुई महिना ७ दिनको शिशुको उपचारको क्रममा मृत्यु भएपछि तनावको अवस्था सिर्जना भएको हो ।
इन्द्र काशी तामाङ र शक्तिमान तामाङकी छोरी सिया तामाङलाई झाडा पखाला लागेर अस्पताल ल्याइएको थियो । तर, शिशुको अवस्था गम्भीर भएपछि सो अस्पतालले गण्डकी अस्पताल रिफर गरेकोमा गण्डकी अस्पतालले शिशुको मृत्यु भएको घोषणा गरेको थियो ।
यता पिडित पक्षले भने, प्रदेश अस्पताल लमजुङको लापरबाहिको कारण शिशुको मृत्यु भएको भन्दै उचित छानविनको माग गरेको छ । पिडित पक्षले आईतबार पत्रकार सम्मेलन गर्दै अस्पताल ल्याउदासम्म सामान्य अवस्था रहेको बालिकालाई चिकित्सकको लापरबाहिका कारण मृत्यु भएको भन्दै छानविन एवं न्यायको माग गरेको हो ।
सोहि विषयमा अस्पतालले भने लापरबाहि नभई कुनै संयोग भएको जनाएको छ । अस्पतालमा आएका कुनैपनि विरामीलाई निको होस भन्ने हेतुले प्रयास गर्दै गर्दा पनि शिशुको मृत्यु हुनु दुःखद भएको तर चिकित्सकको लापरबाहि नभएको अस्पतालका प्रमूख डा. शिशिर देवकोटाले बताए ।
शिशुलाई अस्पतालमा ल्याउनेवित्तिकै समस्या पहिचानका लागि रक्त परिक्षण गरीएको तर, त्यहि कारणले बच्चाको ज्यान गएको भन्ने आधार र आरोप नभएको अस्पताल प्रशासनले जनाएको छ ।
सोहि विषयमा आईतबार विहान अस्पताल प्रशासन, जिल्ला प्रशासन र पिडित पक्षविच बार्ता समेत भएको थियो । त्रिपक्षीय बार्ताले घटनाको विषयमा गम्भीर छानविन गर्ने र दोषि भेटिएमा कारवाहि गर्ने समेत निर्णय भएको छ ।
छानविनका लागि अस्पताल र प्रशासनको रोहवरमा छानविन समिति समेत गठन भएको अस्पतलले जनाएको छ ।
प्रारम्भीक अनुसन्धानमा चिकित्सकको कुनै गल्ती नभेटिएपनि छानविन बाट कुनै गल्ती भेटिएमा कानुन बमोजिम कारवाहिका लागि तयार रहेको अस्पताल प्रशासनले जनाएको छ ।