
काठमाडौँ – सर्वोच्च अदालतमा मङ्गलवार भएको आगजनीका कारण अभिलेखसहितका डाटा सेन्टर ध्वस्त भएको छ । २४ हजार बढी मुद्दाका फाइल एक साथ नष्ट भएका छन् ।
सर्वोच्च अदालतबाटै अनलाइन माध्यमबाट मुद्दाको पेशी तोकिनेमा मंगलबार प्रदर्शनकारीले आगो झोसे पछि सबै चिज खरानी भएको हो ।
सर्वोच्च अदालतले हेटौँडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो, त्यहाँ समेत तोडफोड र आगजनी भएको छ । दुवैतर्फ एकसाथ आक्रमण भएपछि सर्वोच्चको सर्भर पनि डाउन भएको छ । अब सफ्टवेयरबाट मुद्दाहरू अघि बढाउने अवस्था छैन ।
सर्वोच्चको सफ्टवेयर सञ्चालन नआउने भएपछि सबै जिल्ला, उच्च अदालतमा अनिश्चितकालीन मुद्दाको पेशी स्थगित भएको छ । सर्वोच्चले बुधबार एक सूचना जारी गरेर मुद्दाको पेशी अनिश्चितकालीन समयका लागि स्थगित भएको जनाएको छ ।
सर्वोच्च अदालतको सुरक्षार्थ सीमित सुरक्षाकर्मीका कारण मङ्गलवार ठुलो सङ्ख्यामा आएका प्रदर्शनकारीलाई रोक्न सम्भव भएन ।
सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार सर्वोच्चले पछिल्लो समय प्रधानन्यायालयले गरेको फैसलालाई डिजिटलाइज गरेर राखिएको थियो । अब त्यो पनि बाँकी रहेन । न्यायाधीशहरुले तयार पारेका फैसलाका अभिलेखहरू कम्प्युटरसँगै जलेर नष्ट भएका छन् । कतिपय फैसला लेखन बाँकी थियो ।
पछिल्लो समय डिजिटल रूपान्तरणमा उदाहरणीय काम गरिरहेको विशेष अदालत पनि आगजनीबाट ध्वस्त भएका छन् । जहाँ भ्रष्टाचार मुद्दाका फाइलहरू एक निमेषमा खरानी भएका छन् । आगलागीका कारण सर्वोच्चमा विचाराधीन २४ हजार मुद्दाका फाइल नष्ट भएका छन् ।