
लमजुङ - दोर्दी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
दोर्दी गाउँपालिका-६, ताजेगाउँबाट सदरमुकाम बेसीशहर तर्फ आउदै गरेको ग१ज७५५५ नम्बरको जिप आइतबार बिहान साढे ९ बजेतिर छाेटेखाेलामा दुर्घटना भएको हो ।
जिप दुर्घटनामा परि दोर्दी गाउँपालिका-६, ताजेगाउँ बस्ने ४४ वर्षीय मैती कुमारी तामाङ, सोही स्थानका ५८ वर्षीय लाल बहादुर तामाङ,२३ वर्षीय नबिन्द्र घले, २१ वर्षीय घिसे लामा, ३४ वर्षीय हरिमाया तामाङ, ३० वर्षीय खुसी माया घले र ४२ वर्षीय ठगम घले घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको ढाड, टाउको, हात, घाँटी र खुट्टामा चाेट देखिएको छ । घाइतेहरुलाई उपचारको लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको छ ।
जिप ब्रेक फेल भएर भित्तामा ठाेकिन पुग्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिप चालक नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए ।