
काठमाडौँ - निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ ।
बिहीबार बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो ।
आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उनले जानकारी दिए ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट छ ।
निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ । तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ ।