
लमजुङ – राइनास नगरपालिका–४, सातबिसेमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न अभियुक्त पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवनपछि भएको विवादमा साथीले नै ढुंगाले प्रहार गरी हत्या गरेको लमजुङ प्रहरीले निष्कर्ष निकालेको छ ।
राइनास–४, सातबिसेस्थित निर्माणाधीन नगर अस्पतालमा सुरक्षागार्डको काम गर्ने सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भएका २२ वर्षीय विशाल दाहालको हत्या भएको हो । उनको शव असोज १२ गते साँझ आफू सुत्ने कोठामै मृत अवस्थामा फेला परेको थियो ।
मृतक दाहालको शव घोप्टो परेको र टाउकोको पछाडिपट्टि गहिरो चोट लागेको अवस्थामा थियो । शव नजिकै रगतले लतपतिएको ढुंगा फेला परेसँगै हत्याको आशंकामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर साहले बताए ।
घट्नाको सूचना लगत्तै प्रहरी चौकी तिनपिप्लेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलको ढोका बाहिरबाट बन्द रहेको तर झ्याल खुला रहेको अवस्थामा फेला पारेको थियो ।
तत्काल गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक रेशम बोहोराको टोली घटनास्थल पुगेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले मृतक दाहाल पछिल्लो समय राइनास नगरपालिका–३ बस्ने ३० वर्षीय सागर परियारसँगै हिँडडुल गर्ने र मादक पदार्थ सेवन गर्ने गरेको तथ्य फेला पारेपछि उनीमाथि निगरानी बढाएको थियो ।
अभियुक्त परियार सदरमुकाम बेसीशहरमा एक साथीकोमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक साहले बताए । प्रहरी निरीक्षक साहका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा परियारले आफ्नो अपराध स्वीकार गरेका छन् ।
परियारले प्रहरीसमक्ष दिएको बयानअनुसार, असोज ११ गते साँझ उनीहरूले रक्सी र मासु लिएर मृतक दाहाल बस्ने कोठामा गई सेवन गरेका थिए । सोही क्रममा राति अबेर दुई जनाबीच विवाद बढ्दै जाँदा आफूले नजिकै रहेको ढुंगाले दाहालको टाउकोमा प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेका छन् ।
प्रहरीले आफन्त, जनप्रतिनिधि र स्थानीयको रोहवरमा शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाएको छ । पक्राउ परेका परियारलाई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।