TagaroNews
मनाङमा बाक्लो हिमपात, प्रशासनले भन्यो, ‘जहाँ छ त्यहिँ रोक्किनु’

मनाङ - हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा यतिबेला बाक्लो हिमपात भइरहेको छ । सोमबार राति साढे ९ बजेतिरबाट सुरु भएको हिमपात अहिलेसम्म रोकिएको छैन । 

मनाङको ङिस्याङ गाउँपालिका क्षेत्रमा र नार्पाभूमिमा हिमपात भइरहेको छ । 

सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । उनका अनुसार खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फ बाक्लो हिमपात भएको छ । सदरमुकाम चामे सहितका आसपासको क्षेत्रमा भने, पानी परिरहेको छ । 

चक्रीय अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिएसम्म जुन स्थानमा रहेको हो, सोहि स्थानका सुरक्षित ठाउँहरुमा रोकिन प्रशासनले भनेको छ । 

मनाङ प्रशासनका अनुसार अहिले तिलिचो बेसक्याम्पतर्फ मात्रै ८ सयदेखि १ हजारको संख्यामा नेपाली पर्यटकहरु पुगेका छन् । यता थोराङ्ला पास तर्फ भने प्रायः विदेशी पर्यटक रहेको प्रशासनले जनाएको छ । माथिल्लो मनाङमा १ हजार ५ सयको हाराहारी र चामे क्षेत्रमा ३ सयको हाराहारीमा स्वदेशी पर्यटक छन् ।

प्रशासनले सोमबार नै एक सूचना मार्फत मौसममको अवस्था बुझेर मात्रै यात्रा गर्न भनेको थियो । हिमपात भएपछि हिमपात नरोकिएसम्म यात्रा नगर्न र उद्धार गर्नुपर्ने अवस्था भए सम्पर्क गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।  

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update