TagaroNews
मनाङको मौसम खुलेसँगै गन्तव्यतर्फ पर्यटक 

मनाङ – हिमपातले प्रभावित बनेको हिमाली जिल्ला मनाङको मौसममा सुधार आएसँगै रोकिएका पर्यटकहरु आफनो गन्तव्यतर्फ फर्किन थालेका छन् । 

तिलिचो ताल र थोराङ्ला पास तर्फ घुम्न आएका पर्यटकहरु मौसम बदलीका कारण एक्कासी भएको हिमपातले प्रभावित भएका थिए । पर्यटकहरु बुधबार बिहानैदेखी गन्तब्य तर्फ फर्किन थालेका हुन् । 

मनाङको माथिल्लो क्षेत्रबाट फर्किरहेका पर्यटकहरुलाई सुरक्षा समितिले सहजीकरण गरिरहेको मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरि पौडेलले बताए । 

खाङ्सार क्षेत्रमा बसेका करिब ४ सय पर्यटक बुधबार बिहानैदेखी फर्किएका छन् भने, केहि पर्यटक मोटर बाटो खुलेपछि मात्र गन्तव्यतर्फ लागेका छन् । 

होटल व्यवसायीसँगको समन्वयमा तिलिचो क्षेत्रबाट फर्किएकालाई खाङ्सार, मनाङ, टंकी मनाङ, भ्राका, हुम्दे, पिसाङ, ढिकुरपोखरीलगायत क्षेत्रमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्याले बताए । उनका अनुसार व्यवस्थापनमा रहेकाहरु समेत गन्तव्यतर्फ लागेका छन् । 

मनाङ प्रशासनका अनुसार करिब ३५ किलोमिटर सडक खुलाउन खाङसारदेखि मनाङ गाउँतर्फ र हुम्डेदेखि मनाङ तर्फ एक–एक वटा डोजर परिचालन गरिएको छ । 

यस्तै हुम्देमा थप एक डोजर परिचालन गरि सदरमुकाम चामेदेखि खाङ्सारसम्मको बाटो खुलाइसकिएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update