मनाङ - अत्यधिक हिमपातका कारण मनाङस्थित तिलिचो बेसक्याम्पमा ९ वर्षीय वालक सहित १५ जना अलपत्र परेका छन् ।
निरन्तर हिमपातका कारण बाटो बन्द हुँदा उनीहरू बेस क्याम्प बाट फर्किन नसकेको प्रहरीले जनाएको छ ।
'सानो बच्चा र हिउँका कारण तल आउन सकिएन, बेसक्याम्पमा रहेका धादिङ गंगाजमुना गाउँपालिका-५ घर भएका रेशु अधिकारीले भने, 'बेसक्याम्पमा केहि बिदेशी पर्यटक पनि अलपत्र छन् ।'
'लगातार हिमपातले स्वास्थ्य अवस्था असामान्य हुदै गएको छ, उनले थपे 'अत्यधिक चिसोले गर्दा खाद्यान्नको समेत कमी छ, सञ्चार सम्पर्कमा समेत कठिनाइ छ ।' यही अबस्था रहिरहे स्थिति जटिल बन्दै जाने उनले बताए ।
अलपत्र परेकाहरुलाई सुरक्षित ठाउँमा राखिएको र स्थानीय जनप्रतिनिधिको समन्वयमा मौसम खुलेसँगै उद्वार गरिने प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए ।
प्रहरीका अनुसार तिलिचो बेसक्याम्पमा रहेका आन्तरिक पर्यटकहरुमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भएका ३९ वर्षीय रेशु अधिकारी, सोही स्थानका ३४ वर्षीय पार्वती भण्डारी अधिकारी, १० वर्षीय आरोन अधिकारी छन् ।
यस्तै धादिङ नीलकण्ठ नगरपालिका-३ घर भएका ४४ वर्षीय अशोक कुमार बस्नेत, ४० वर्षीय शिरीषा बस्नेत, ४० वर्षीय इवराज थापा क्षेत्री, ३९ वर्षीय इन्द्र कुमारी थापा, २१ वर्षीय नविना थापा, १८ वर्षीय नवीन थापा छन् ।
त्यस्तै पर्सा बिरगंजका २३ वर्षीय रिजन मानन्धर र चितवन भरतपुर महानगरका २३ वर्षीय सिजन मैनाली रहेको प्रहरीले जनाएको छ । उनीहरु कार्तिक १० गते बेसक्याम्प पुगेका थिए ।
तिलिचो बेसक्याम्पमा अलपत्र अन्य पर्यटकहरुको भने, यसअघिनै उद्वार गरिसकिएको छ ।



