मनाङ – जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
शनिबार बिहान ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीले जानकारी दिए ।
२ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा २ चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको प्रहरी उपरीक्षक डाँगीले बताए ।
उनले भने, ‘पर्यटक अलपत्र परेको जानकारीसँगै मेरो आफ्नै कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकल सहितको टोली उद्धारको लागि गएका हौँ । उद्धार गरिएका मध्ये एक जना महिला बिरामी र अर्का एक पुरुषको खुट्टामा चोट छ । सबै जनामा अक्सिजन लेबल कम रहेको पाइयो ।’
पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले शनिबार बिहान ११ नेपाली पर्यटकलाई सदरमुकाम चामे ल्याएको छ । चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेसक्याम्पमा नै बसेको जनाइएको छ ।



