TagaroNews
माथिल्लो मनाङमा सञ्चारको समस्या, मर्कामा व्यवसायी र पर्यटक
साङ्केतिक तस्वीर ।

मनाङ - हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा इन्टरनेट सेवा प्रभावकारी नहुँदा सञ्चार सेवाको समस्या भएको छ ।

जिल्लाको ङिस्याङ गाउँपालिका अन्तर्गत माथिल्लो भेगमा विगत महिनादेखि नै इन्टरनेट सेवामा समस्या भएको हो । 

माथिल्लो मनाङको भ्राका देखि माथिल्लो क्षेत्रमा टेकमाइन्ड कम्पनीको इन्टरनेट सेवा पुगेपनि पटक-पटक सेवा अवरुद्ध हुँदा स्थानियसँगै पर्यटकहरुले सास्ती खेप्नु परेको माथिल्लो मनाङका व्यवासायी सागर गुरुङले बताए । उनका अनुसार भ्राका, मनाङ गाउँ, टंकी मनाङ, याकखर्क, थोरङलाफेदी सम्म इन्टरनेटमा बारम्बार समस्या हुने गरेको छ ।

हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने मनाङमा इन्टरनेट सेवा पटक-पटक अवरुद्ध हुँदा निकै समस्या भएको उनले बताए । उनले भने, 'सेवा प्रदायक कम्पनीलाई मर्मत तथा प्रभावकारी सेवाका लागि सम्पर्क गर्दा पनि वास्ता गर्दैन, रकम समयमै बुझाएको हुन्छ । सेवामा सुधारनै छैन ।'

इन्टरनेट सेवाका लागि अन्य विकल्प नहुँदा महंगो शुल्क तिर्न बाध्य भएको तर अपेक्षित सेवा नपाउदा व्यवसायमा नै समस्या भएको त्यस क्षेत्रका व्यवसायीहरु बताउँछन् ।

इन्टरनेट सेवामा समस्या हुँदा माथिल्लो मनाङका होटल व्यवसायीसँगै सरकारी तथा निजि कार्यालयहरु, शैक्षिक क्षेत्रमा समेत समस्या परेको स्थानीयले बताएका छन् ।

यता टेकमाइन्ड कम्पनीको इन्टरनेट सेवा मनाङका कर्मचारी बिबि गुरुङसँग बुझ्दा गत कार्तिक ११ गते भएको हिमपात पश्चात् सेवामा समस्या आएको बताए । उनले भने, हिमपातले गर्दा धेरै ठाउँमा समस्या आएको छ । सामाग्रीहरु बिगि्रएको छ । हामी मर्मतकै क्रममा छौं । छिटो नै सेवा सुचारु हुनेछ ।'

यसअघि पनि माथिल्लो मनाङमा इन्टरनेट सेवा दिएको पिडएस कम्पनीले कारोवारको विषयमा सहमती हुन नसक्दा सेवा अवरुद्ध गरेको थियो । पिडिएसले ईन्टरनेट सेवा अवरुद्ध गराएपछि स्थानियले टेकमाइन्ड कम्पनीबाट इन्टरनेट सेवा लिँदै आएका छन् । 

सेवाग्राहिहरुले मुल्य अनुसार सेवा नपाएको र पछिल्लो समय सोहि सेवामा पनि मुल्य बृद्धि भएपछि स्थानियले विकल्प खोज्ने मनासाय बनाएका छन् । 

मनाङमा अहिले पर्यटकहरु आउने सिजन भएकोले सिजनमा आउने पर्यटकहरुले होटलहरु बुक गर्ने तथा सूचनाहरु आदान प्रदान गर्ने हुँदा अहिले सबै सेवामा प्रभाव परेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update