लमजुङ – मर्स्याङ्दी गाउँपालिका–६, नाइचेस्थित भित्रि सडकखण्डमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब साढे ११ बजे मर्स्याङ्दी गाउँपालिका–३, खुदीबाट नाइचेस्थित हिडिखोला जलविद्युत परियोजनाका लागि सिमेन्ट लिएर जाँदै गरेको बा.८च ३७३१ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे राति साढे १२ बजेतिर प्रहरीले खबर पाएका थिए । जानकारीसँगै बाहुनडाँडा प्रहरी चौकीका टोलीले घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएका थिए । तर, उपचारका क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।
मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका ३० वर्षीय चालक विनोद खड्का र सोही स्थान बस्ने २५ वर्षीय पारस खड्का रहेका छन् ।
जिपमा ३ जना सवार रहेकोमा दुर्घटनामा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बु सकुशल रहेको प्रहरीले जनाएको छ ।




