लमजुङ – मर्स्याङ्दी नदिमा निर्माण गर्न लागिएको ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको ठेक्का इटालीको ट्रोयर एजीले पाएको छ । यससम्बन्धी ठेक्का सम्झौता भएको अपि पावर कम्पनी लिमिटेडले जनाएको छ ।
अपि पावरले बेसीशहर नगरपालिका–६, बेलौती बिसौनामा ड्याम निर्माण र बेसीशहर– १०, सालडाँडामा पावर हाउस रहने गरी ५० मेगावाटको यस आयोजना निर्माण कार्य अघि बढाएको हो ।
सम्झौता पत्रमा ट्रोयरका प्रमुख ह्यान्सपिटर स्कोल्झोर्न, बिक्री विभाग प्रमुख पवन ढकाल, ट्रोयर हाइड्रो प्रालि इन्डियाका अध्यक्ष र प्रवद्र्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य पूरा गरी आयोजना विद्युत् उत्पादन गर्न सक्षम हुने अवस्थामा ल्याउने छ ।
करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवद्र्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट प्रवाह हुने छ । आयोजनाबाट साढे दुई वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिने छ ।
आयोजनाको प्रतिरोधमा स्थानीय
यता यस आयोजना निर्माणको बिषयमा बेसीशहरका स्थानीयले बिरोध जनाएका छन् । बेसीशहरको सुन्दरता बिगार्ने र दूरगामी रुपमा नकरात्मक प्रभाव पर्ने गरी जलविद्युत आयोजना निर्माण हुन दिन नहुने भन्दै प्रतिरोधमा उत्रने निर्णय समेत गरेका छन् ।
‘प्रकृति बचाऔं, मर्स्याङ्दी बचाऔं’ भन्ने नारा लिएर बेसीशहरका सचेत युवाहरुले बिहिबार बेसीशहरमा बृहत छलफल समेत गरे । छलफलमा अधिकांशले जलविद्युत आयोजना निर्माण भएमा त्यसले पार्ने दूरगामी प्रभावकाले बेसीशहरमा बस्नै नसकिने अवस्था सिर्जना हुने भन्दै स्थानीयको स्वीकृति र हित विपरित जलविद्युत आयोजना सञ्चालन हुन नहुने बताए ।
कार्यक्रममा नागरिक अगुवा डा. बालकृष्ण बराल, कृष्ण कुमार प्रधान, जनक बस्नेत, सुरेश प्रधान, खेमजंग गुरुङ, चन्द्र मिश्र लगायतले जलविद्युत आयोजनाले बेसीशहरमा पार्ने नकरात्मक प्रभाव, आइएलओ १६९, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र स्थानीयहरुको अग्राधिकारका सम्बन्धमा आफ्ना विचार ब्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी र वक्ता सबैले बेसीशहर नगर क्षेत्रमा निशर्त रुपमा मर्स्याङ्दीको प्राकृतिक बहावमा परिवर्तन हुन नहुनेमा जोड दिँदै स्थानीयलाई बेवास्ता गदै बलमिच्याई गरेर जलविद्युत आयोजना निर्माण अघि बढाइएमा स्थानीयले जुनसकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।
नेपालको प्रचलित कानुनले शहर बजारको ४–५ किलोमिटर वरपर जलविद्युत योजना बनाउन नहुने ब्यवस्था भएको अन्तरक्रियाका अवसरमा दावी गरिएको थियो । बजार क्षेत्रमा जलविद्युत योजना निर्माण गर्न कानुनी रुपमै बन्देज भए पनि उक्त कानुन तोडेर निर्माण गर्न लागिएको भन्दै सहभागीले आपत्ती जनाए ।
भेलाले मर्स्याङ्दी नदीमा कुनै पनि हालतमा यस जलविद्युत आयोजना बन्न नहुने निष्कर्ष निकाल्दै बिरोधमा २७ सदस्यीय मस्र्याङदी बचाऔं संघर्ष समिति गठन गरेका छन् ।
संघर्ष समितिको संयोजकमा रामबहादुर थापा छन् । सह संयोजकमा जनक राज बस्नेत, सचिवमा सुरेश कुमार प्रधान, कोषाध्यक्षमा नेत्र बहादुर गुरुङ रहेका छन् । अन्य यूवाहरु सदस्य छन् ।
संघर्ष समितिले बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालसँग समितिका मुद्दा र नगरपालिकाको दृष्टिकोणबारे छलफल गरे । यस्तै प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

दिव्यज्योति हाइड्रोपावर प्रालिले एक दशकअघि यस आयोजनाको सर्भे गरेको थियो । दिव्यज्योतिले ५० मेगावाटको यो आयोजनाको ९८ प्रतिशत शेयर चिनियाँ कम्पनीलाई बिक्री गरेकोमा अहिले यो आयोजना अपि पावर लिमिटेडले खरिद गरेको छ ।
आयोजनाले २०७५ भदौ १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता गरि बेसीशहरका सरोकारवालाई थाहै नदिई सुटुक्क वातावरणीय प्रभाव मूल्याङ्कन सहितको सार्वजनिक सुनुवाई समेत गरिसकेको छ ।



