बेसीशहर – नेकपा एमाले लमजुङले देशव्यापी कार्यक्रम अन्तर्गत बेसीशहरमा पनि प्रदर्शन र सभा गरेको छ ।
जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको एमालेले संसद पुनर्स्थापना र सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन र सभा गरेको हो ।
बेसीशहरको मनाङ्गे चौताराबाट सुरु भएको प्रदर्शन सेरा बजारमा पुगेर सभामा परिणत भएको थियो ।

हाइस्कुलचोक, पुरानोबैँक चोक, भिमसेनथान, नारायणथान हुँदै सेरा बजार पुगेर भएको सभामा बोल्ने एमालेका नेताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको जिकिर गर्दै एमालेले त्यसलाई स्वीकार नगर्ने बताएका थिए ।
सभाका मुख्य वक्ता एमालेका केन्द्रीय उपमहासचिव एवं पूर्व मन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको तर्क गरे ।
एमाले संविधान, राष्ट्रियता र समृद्धिका पक्षमा उभिएको भन्दै उनले अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए । उनले राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने जिकिर गरे ।

एमाले नेताहरुले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत आग्रह गरे ।
एमालेको बलियो सांगठानिक आधार भएको लमजुङमा शनिबार भएको प्रदर्शनमा करिब ६ सय र सभामा करिब ३ सय ५० जनाको उपस्थिति भएको सुरक्षा निकायले आंकलन गरेको छ ।

एमाले स्रोतका अनुसार लमजुङमा एमालेका करिब ६ हजार संगठित पार्टी सदस्य छन् । यस हिसाबले शनिबारको र्याली र सभामा पार्टीका अधिकांश संगठित सदस्य नै उपस्थित नभएको देखिन्छ ।






