लमजुङमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
लमजुङ - जिल्लाको राइनास नगरपालिका-६, स्याउली स्थित ढलेबर चोकमा मोटरसाइकलले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।
राइनास सातबिसेबाट धमिलिकुवातर्फ आउदै गरेको ना ४८ प ३०७७ नम्बरको मोटरसाइकलले सोमबार दिउँसो पौने ४ बजेतिर ठक्कर दिदा सोही स्थानकी ६८ वर्षीय मैती कुमारी तामाङ गम्भीर घाइते भएकी थिइन् ।
घाइते तामाङलाई तत्काल उपचारको लागि सहोदर अस्पताल धमिलिकुवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए ।
मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका-९, बाइसजागर बस्ने अन्दाजी ४० वर्षीय शैलेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ १८:३४
प्रतिक्रिया दिनुहोस्




