लमजुङ - प्रदेश अस्पताल लमजुङ व्यवस्थापन समितिको अध्यक्षमा विजय गुरुङ चयन भएका छन् ।
गण्डकी प्रदेश सरकारले मातहतका अस्पतालहरूमा नयाँ व्यवस्थापन समिति गठन गरेसँगै लमजुङमा गुरुङ नियुक्त भएका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लमजुङ सहित प्रदेशका ११ वटै अस्पतालमा व्यवस्थापन समिति गठन गरेको हो । राइनास नगरपालिका निवासी गुरुङ विगत लामो समयदेखी राजनैतिक र सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।
प्रदेश अस्पताल लमजुङ विगत ४ महिनादेखी नेतृत्व बिहिन अवस्थामा रहेको थियो ।
सरकारले बनाएको नयाँ गठन आदेशअनुसार ५० शय्याको अस्पतालमा स्नातक तह उत्तीर्ण भई सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति अध्यक्ष हुनेछन् । यसमा ९ सदस्यीय समिति गठन हुनेछ । जसका सदस्यहरूमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिमध्ये १ महिलासहित २ जना रहनेछन् ।
प्रदेश सरकारमातहत हाल १४ वटा अस्पताल र २ वटा आयुर्वेद अस्पताल छन् ।




