लमजुङ – किराना पसल तथा होटलको आडमा नाबालिका राखेर यौन व्यवसाय संचालन गर्ने गरेकी एक महिलालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ ।
बेसीशहर नगरपालिका–८, प्रगतिटोल स्थित किराना पसल सञ्चालन गर्दै आएकी ४५ बर्षीय कोपिला श्रेष्ठलाई पक्राउ गरि कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सो किराना पसलबाट ३ जना नाबालिकाहरुलाई उद्धार समेत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए ।
आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई पसलमा काम गर्ने भनि राखी पसलको पछाडि भागमा छुट्टै कोठा व्यवस्था गरि पुरुष ग्राहकहरुसँग शारिरीक सम्पर्क गर्न लगाउने र आर्थिक फाईदा लिई जवरजस्ति यौन व्यवसायमा संलग्न गराएको पुष्टि हुने सबुद प्रमाण समेत फेला परेपश्चात सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी श्रेष्ठलाई लमजुङ जिल्ला अदालतबाट मानव वेचबिखन सम्वन्धी कसुर मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
उनका अनुसार पिडित नाबालिकाहरुलाई संरक्षण गृहमा राख्ने व्यवस्था मिलाईएको छ ।





