TagaroNews
युएनडीपीको कर्मचारी भन्दै ठगी गर्ने युवक लमजुङमा पक्राउ

लमजुङ – संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)को कर्मचारी भन्दै ठगी गर्ने एब युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका १३ बस्ने २५ वर्षीय सुजन सिलवाल रहेका छन् । 

युएनडीपीको कर्मचारी भनी परिचय दिँदै विभिन्न वडा कार्यालय, विद्यालय र कृषि फार्ममा पुगेर ठगी गरेको आरोपमा सिलवाललाई दोर्दी गाउँपालिका-४, सेराबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए । 

प्रनाउ बोहोराका ती युवकले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग उपलब्ध गराउने बहानामा निवेदन तथा प्रतिलिपि सेवा शुल्क, दस्तुरलगायत रकम उठाउँदै हिँडिरहेका थिए । 

सिलवालसँगै प्रहरीले विभिन्न वडा तथा विद्यालयका नाममा संयुक्त राष्ट्रसंघ नेपाललाई सहयोग तथा भौतिक पूर्वाधार विकासका लागि लेखिएका निवेदन पत्र, फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र ठगीबाट संकलन गरिएको नगद रकम बरामद गरेको छ ।

सिलवालले युएनडीपीमा जागिर लगाइदिने भनी एकजना सहयोगी र सवारी साधन भाडामा लिएर चालकसहित ठगी गर्दै हिडेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका सिलवालमाथि ठगीसम्बन्धी मुद्दामा अदालतबाट म्याद अनुमती लिएर अनुसन्धान सुरु गरिएको प्रनाउ बोहोराले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update