लमजुङ – मर्स्याङ्दी नदीमा ९० मेगावाटको 'मर्स्याङ्दी नदी आंशिक जलाशय (पिआरओआर) जलविद्युत् आयोजना' निर्माण गरिने भएको छ ।
एम.ए. पावर प्रालिले लमजुङको राइनास नगरपालिका, गोरखाको पालुङटार र तनहुँको भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिमा मुख्य संरचनाहरू निर्माण हुने गरी यस आयोजना निर्माण गर्न लागेको हो ।
२०८६ वैशाखभित्र सञ्चालनमा ल्याउने लक्ष्य सहित कम्पनीले निर्माणका लागि उत्पादन अनुमति पत्रको मागसँगैका अन्य गतिविधि अघि बढाएको विद्युत् विकास विभागका सूचना अधिकारी बद्री कुइकेलले जानकारी दिए ।
विभागका अनुसार आयोजना अन्तर्गत पानी फर्काउन नदीमा १५ मिटर चौडाइ, ५.७० मिटर उचाइ तथा ७४ मिटर उचाइको ब्यारेज निर्माण गरिने छ ।
नदीको बहाव व्यवस्थापनका लागि चारवटा बे–गेट राखिने छ । बालुवा थिगार्न चारवटा कोठा भएको पोखरीको प्रस्ताव गरिएको छ । पोखरीको कुल लम्बाई १५० मिटर, चौडाइ १९ मिटर उचाइ ८.७० मिटर रहने छ ।
आयोजनामा करिब ११.१ किलोमिटर लामो, ५.६ मिटर व्यासको कङ्क्रिट लाइनिङ गरिएको सुरुङ (हेडरेस टनेल) निर्माण हुनेछ । अपसर्ज, डाउनसर्ज तथा वाटर ह्यामर नियन्त्रणका लागि सर्ज साप्ट तथा जंक्सन साप्ट रहनेछन ।
नदीको दायाँ किनारमा सतही विद्युत् निर्माण गरिनेछ । विद्युत्गृहबाट निस्कने पानी टेलरेस पाइपमार्फत पुनः नदीमै मिसाइने छ ।
आयोजनाबाट वार्षिक सरदर ५४८.९५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उक्त विद्युत् करिब ११.६ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने योजना छ ।
आयोजना २०८६ वैशाखभित्र सञ्चालनमा ल्याउने लक्ष्य कम्पनीले राखेको उल्लेख गरिएको छ ।






