लमजुङ – जिल्लाको दूधपोखरी गाउँपालिकामा निर्माणाधीन २ मेगावाटको चेपे खोला क्यासकेड जलविद्युत् आयोजनाले विद्युत् प्रवाहका लागि प्रसारण लाइन निर्माण गर्दैछ ।
३३ केभी प्रसारण लाइन सोही गाउँपालिकाको वडा नम्बर २ मा रहेको आयोजनाको स्विचयार्डदेखि वडा नम्बर १ मा सञ्चालनमा रहेको ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजनाको स्विचयार्डसम्म निर्माण गरिने छ ।
प्रवद्र्धक आशुतोष इनर्जी लिमिटेडका अनुसार कुल १.५०१ किलोमिटर लामो रहने यस प्रसारण लाइनमा २३ वटा एंगल प्वाइन्टहरू रहनेछन् । यसमा स्टील ट्युबुलर पोल र एसिएसआर ‘डग’ कन्डक्टरको प्रयोग गरिने छ ।
आयोजनाले १३ मिटर अग्ला पोलहरू प्रयोग गर्ने र पोलहरू बीचको अधिकतम दूरी ७५.९२ मिटर रहने उल्लेख गरेको छ । यसका लागि राइट अफ वे र पोल फाउन्डेसनका लागि करिब ०.९०८८ हेक्टर जग्गा आवश्यक पर्ने देखिएको छ ।
विद्युत् विकास विभागका अनुसार यो प्रसारण लाइन निर्माण कार्य सुरु भएको दुई महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वातावरणीय र प्राविधिक दृष्टिकोणले यो आयोजनालाई सुरक्षित बनाउन प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँ/बायाँ ३–३ मिटर गरी कुल ६ मिटरको क्षेत्राधिकार कायम गरिने छ ।
निर्माणका क्रममा भू–क्षय, बाढी र वायु प्रदूषण जस्ता वातावरणीय पक्षमा उल्लेख्य प्रतिकूल असर नपर्ने गरी काम सम्पन्न गर्ने योजना छ ।
यद्यपि, आयोजनाको निर्माण वा सञ्चालनबाट वातावरणमा प्रतिकूल असर पर्ने देखिएको भए ३५ दिनभित्र विद्युत् विकास विभाग वा प्रवद्र्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन विभागले बिहीबार सूचनामार्फत आग्रह गरेको छ ।
आयोजनाको अनुमति पत्र दिने तयारी स्वरूप वातावरणीय प्रभावबारे सरोकारवालासँग राय सुझाव समेत माग गरेको विभागले जनाएको छ ।






