लमजुङ – जिल्लामा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने बाटो खुलेको छ ।
दिव्यज्योति जलविद्युत् कम्पनीद्धारा निर्माण थालिएको यस आयोजनामा स्थानीय बासिन्दाका लागि संस्थापक सेयर बिक्री खुला गरिएको हो ।
आयोजनाबाट प्रभावित क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ८, ९ र बेसीशहर नगरपालिका ६ र १० वडाका बासिन्दालाई प्राथमिकताका साथ शेयर उपलब्ध गराइने कम्पनीका प्रोजेक्ट म्यानेजर उमेश नेपालले बताए ।
उनका अनुसार संस्थापक सेयर खुलेसँगै स्थानीयमा लगानीको अवसर सिर्जना हुनुका साथै आयोजनाप्रति स्वामित्व भावना अभिवृद्धि हुने विश्वास गरिएको छ ।

स्थानीय स्रोत, साधन तथा जनशक्तिको अधिकतम उपयोग गर्दै यस आयोजनाको निर्माण कार्य अगाडि बढाइएको प्रोजेक्ट म्यानेजर नेपालले बताए । आयोजनाले स्थानीय विकास, रोजगारी तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उनको अपेक्षा छ ।
संस्थापक सेयर बिक्री प्रक्रिया यहि २०८३ साल असोज ३ गतेदेखि १५ गतेसम्म खुला रहनेछ । आवेदन फारम आयोजनास्थल नजिकैको कार्यालय तथा कम्पनीको थापाथली, काठमाडौंस्थित प्रधान कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

कम्पनीले स्थानीय तहसँग समन्वय गर्दै प्रक्रिया सहज बनाउन सहयोग गर्न समेत आग्रह गरेको छ ।
०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात ०७५ भदौ १० मा यस आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।
करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट साढे दुई वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।






-1776528207.jpg)
