मनाङ – हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा बाक्लो हिमपातले रोकिएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ ।
बिशेष गरी तिलिचो बेस क्याम्पस र आसपासका क्षेत्रमा हिमपातका कारण रोकिएका करिब १५ सय पर्यटकलाई सुरक्षाकर्मीहरुको टोलीले हिउँ पन्छाएर बाटो खुलाउँदै सुरक्षित स्थानतर्फ सार्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए ।

खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फको क्षेत्रमा बाक्लो हिमपात पश्चात पर्यटकहरु रोकिएका हुन् । रोकिएका पर्यटकहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले बाटो खुलाउँदै सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।

मनाङको माथिल्लो क्षेत्रमा सोमबार राति साढे ९ बजेतिरबाट हिमपात सुरु भएको थियो । सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको प्रजिअ पौड्यालले बताए ।
चक्रीय अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिएसम्म जुन स्थानमा रहेको हो, सोहि स्थानका सुरक्षित ठाउँहरुमा रोकिन प्रशासनले आग्रह गरेको थियो ।
यो पनि..
मनाङमा बाक्लो हिमपात, प्रशासनले भन्यो, ‘जहाँ छ त्यहिँ रोक्किनु’



