TagaroNews
संस्थापक सेयरको नाममा स्थानीय ठग्दै सुपर खुदी हाइड्रो

लमजुङ – उत्तरी लमजुङको खुदी खोलामा निर्माणाधीन सुपर खुदी जलविद्युत् आयोजनाले स्थानीयलाई संस्थापक सेयर (प्रमोटर सेयर)को नाममा ठगी गरेको भेटिएको छ ।  

सुपरखुदी हाइड्रोपावर लिमिटेडद्धारा मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरामा निर्माणाधीन २६ मेगावाट क्षमताको यस आयोजनाले सोहि पालिकाको ९ नम्बर वडाका बासिन्दालाई प्रमोटर सेयरको नाममा ठगी गरेको पाइएको हो । 

यस आयोजना वडा नम्बर २, ३ र ९ भई बग्ने खुदीखोलामा निर्माणाधीन छ । आयोजनाबाट वडा नम्बर २ र ३ घरपोखराका बासिन्दाले यसअघि नै संस्थापक सेयर पाइसकेका छन् । 

सस्थापक सेयरबाट आफुहरुलाई बन्चित गरेपछि वडा नम्बर ९ का स्थानीयहरुले संस्थापक सेयरको माग सहित आन्दोलन लगाएतका कार्यक्रम चर्काएका थिए । पुरक वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने माग समेत राखे । 

सो लगत्तै प्रभावित मर्स्याङ्दी–९ का बासिन्दाहरुलाई संस्थापक सेयरमा सहभागी गराउने भन्दै आयोजनाले झुक्काएर उधारो सहमती पत्र बनाएर निर्णय समेत गरी ठगी गरेको हो ।

स्थानीयसँग कस्तो सम्झौता भयो ? 
स्थानीयको आन्दोलन पश्चात गत ०८१ साल चैत २८ गते सुपरखुदी हाइड्रोपावर लिमिटेड र  मर्स्याङ्दी–९ का वडा अध्यक्ष तथा प्रतिनिधिहरुबिच संस्थापक सेयरमा सहभागी गराउने र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमती र निर्णय भएको थियो । सम्झौतामा पुरक वातावरणीय प्रभाव मूल्यांकन गर्ने माग समेत अन्त्य गर्ने निर्णय गरिएको थियो । 

‘यस सुपरखुदी हाइड्रोपावर लिमिटेडको संस्थापक सेयर हाल सञ्चालकको स्वामित्वमा रहेको सेयर आवश्यक प्रक्रिया तथा बैँक कर्जा भुक्तानी पश्चात फुकुवा भइसकेपछी क्रमसारी हुने गरी तत्काल सञ्चालकलाई सेयर वापतको रकम समेत भुक्तानी गर्ने सहमती भयो । उक्त सेयर इच्छुक लगानीकर्ताबाट माग हुन आउने रकम वा (३ करोड रुपैँया मात्र) जुन रकम हुन्छ सोहि वमोजिम गर्ने निर्णय गरियो । उक्त सेयरमा लगानी गर्दा मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ का स्थानीय बासिन्दाले मात्र लगानी गर्न पाउने निर्णय गरियो । यस सम्बन्धमा असार मसान्त भित्र निर्णय लिने निर्णय गरियो ।’ निर्णयमा भनिएको छ । 

सोहि सहमती पत्रमा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने र पुरक वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने माग समेत अन्त्य गर्ने निर्णय गरिएको उल्लेख छ । 

कसरी ठगीए त स्थानीय ?
सुपरखुदी हाइड्रोपावर लिमिटेड र मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष तथा प्रतिनिधिहरुबिच सहमती र निर्णय भएलगत्तै प्रभावित बासिन्दालाई संस्थापक सेयर लगानी गर्नेबारे सूचना जारी गरियो । सोही सूचनाको आधारमा प्रभावित क्षेत्रका स्थानीयले प्रति परिवार न्युनतम २५ हजारदेखि बढीमा एक लाख रुपियाँसम्म संस्थापक सेयर लगानी गर्ने भए । 

सूचना अनुसार गत साउन ११ देखी २३ गतेसम्म हिमालयन बैँक भुलभुले शाखामा खोलिएको खातामा रकम जम्मा गरे । करिब ५ सय जना स्थानीयबासीबाट ३ करोड ६७ लाख ५४ हजार ९ सय रुपैँया संस्थापक सेयरका लागी बैँक खातामा रकम जम्मा भएको वडा अध्यक्ष थापाले बताए । रकम जम्मा गरेका स्थानीयले आवश्यक कागजपत्र वडा कार्यालयमा बुझाए । 

सेयरका लागि बैँक खातामा रकम जम्मा भएको करिब ६ महिना बित्दा समेत आयोजना पक्षबाट कुनै कदम अगाडि नबढेको र सो रकम बैँकमा होल्ड भएर बसेको वडा अध्यक्ष थापाले बताए । 

‘आयोजना र हाम्रो पक्षबिच सहमती भएसँगै हामीले स्थानीयबासीलाई सेयरको आव्हान गरेका थियौँ । वडा अध्यक्ष थापाले भने, ‘सोही अनुसार स्थानीयले सेयरका लागी रकम जम्मा गरे । अहिले करिब ६ महिना बित्यो । आयोजनाले विभिन्न वहाना देखाउँदै सेयर प्रक्रिया नै  अगाडि बढाएको छैन् । यो त सरासर जनतालाई उल्लु बनाएर ठग्ने काम मात्र भयो ।’

सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आईपीओ निष्काशन गर्दैछ । आईपीओ निस्केसँगै संस्थापक सेयर पाउने कि नपाउने कुनै टुंगो नै छैन् ।

यता मर्स्याङ्दी–९ का स्थानीयलाई दिने भनेको संस्थापक सेयरको प्रक्रियाबारे आयोजनाका प्रबन्ध निर्देशक गणेश कार्कीसँग बुझ्दा उनले यसबारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले यस विषयमा आयोजनाका प्रोजेक्ट म्यानेजर रवि गौतमसँग कुरा गर्नु भनि आफुँ पन्छिए । 

सोहि विषयमा आयोजनाका प्रोजेक्ट म्यानेजर रवि गौतमसँग सम्पर्क गर्दा उनले अस्पतालमा रहेको बताए । उनले अस्पतालमा रहेको बेला त सुख पाउछु होला भन्दै फोन काटे । यो विषयलाई वास्तै गरेनन् । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले हाल कायम जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ ।

४ अर्ब १९ करोड रुपियाँ कूल लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा बैंकले ७० प्रतिशत लगानी गर्नेछ । आयोजनामा बैंकको ३ अर्ब ३ करोड रुपियाँ र एक अर्ब १६ करोड रुपियाँ स्वपूँजी लगानी छ ।

आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । २०८२ चैतभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । यस विषयमा हामी थप फलोअप गर्नेछौँ ।

यो पनि..

सेयरको नाममा स्थानीय झुक्काउँदै माथिल्लो खुदी आयोजना

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update