मन्टेश्वरी दर्शन यहीँबाट सुरु हुन्छ-बालकलाई बनाउने होइन, बुझ्ने । आज हाम्रो समाजमा मन्टेश्वरीलाई केवल साना बच्चाको पढाइ, रङ्गीन सामग्री र खेल्दै सिक्ने विधिसम्म सीमित गरेर हेरिन्छ तर, वास्तवमा मन्टेश्वरी कुनै विधि मात्र होइन, यो त बालक र जीवनलाई हेर्ने सम्पूर्ण दृष्टिकोण हो । यसले शिक्षा भन्दा अगाडि मानवता सिकाउँछ, प्रतिस्पर्धा भन्दा अगाडि आत्मसम्मान, र आदेश भन्दा अगाडि स्वतन्त्रता ।
मेरो नौ वर्षको शिक्षण यात्रामा मैले सयौं बालकहरूलाई नजिकबाट बुझ्ने अवसर पाएँ । तीमध्ये धेरै बच्चा पढाइमा सक्षम थिए, अङ्कमा अब्बल थिए, सीपमा तेज थिए तर, जब उनीहरू भावनात्मक रूपमा कमजोर देखिन्थे, निर्णय लिन डराउँथे, असफलतामा भाँचिन्थे, आलोचना सहन सक्दैनथे, तब मलाई गहिरो प्रश्न उठ्थ्यो । के हामीले शिक्षा सही दिशामा दिइरहेका छौं ? हामीले शारीरिक र बौद्धिक विकासमा त जोड दियौं तर, व्यक्तिगत, सामाजिक र भावनात्मक विकासलाई लगभग बेवास्ता गर्यौं । यही अभाव पछि गएर चिन्ता, डिप्रेसन, ओभरथिंकिङ, आत्मविश्वासको कमी र आत्मसम्मानको संकटका रूपमा देखापर्छ ।
आजको नेपाली समाज र शिक्षा प्रणालीमा अझै पनि बच्चालाई सुन्नेभन्दा बढी आदेश दिने संस्कार हावी छ । ‘चुप लाग’, ‘यसो नगर’, ‘हामीले भनेको मान’ भन्ने शब्दहरू बच्चाले सानैदेखि सुन्दै हुर्कन्छन् । तर, तिमीलाई कस्तो लाग्यो ?, तिमी के चाहन्छौ ?, ‘तिमीले किन यसरी सोच्यौ ? भन्ने प्रश्नहरू निकै कम सोधिन्छन् ।
विद्यालयमा पनि अभिभावक सन्तुष्टि र नतिजामुखी सोचले शिक्षा निर्देशित भइरहेको छ । शिक्षाको मात्रा बढ्दै गएको छ, तर गुणस्तरीय शिक्षा खुम्चिँदै गएको छ । अङ्क, ग्रेड र रैंक बढेका छन्, तर आत्मबल, सहनशीलता र आत्मपहिचान कमजोर बन्दै गएको छ ।
मन्टेश्वरी दर्शन यही ठाउँमा अत्यन्त सान्दर्भिक देखिन्छ । यसले बालकलाई केन्द्रमा राख्छ, शिक्षकलाई निर्देशन दिने व्यक्ति होइन, मार्गदर्शक बनाउँछ, र विद्यालयलाई नियन्त्रणको स्थान होइन, सुरक्षित सिकाइको वातावरण बनाउँछ । यसमा बालकलाई स्वतन्त्र छनोट गर्न सिकाइन्छ, गल्तीलाई अपराध होइन, सिकाइको प्रक्रिया मानिन्छ, र प्रतिस्पर्धा भन्दा आत्मविकासमा जोड दिइन्छ । मन्टेश्वरीले बालकलाई ‘के बन्ने?’ भन्दा अगाडि ‘को बन्ने?’ भन्ने प्रश्न सोध्न सिकाउँछ ।
दुःखको कुरा, हाम्रो समाजमा मन्टेश्वरीलाई अझै पनि नर्सरी र केजीसम्म सीमित गरिएको छ । मानौं आत्मनिर्भरता, आत्मअनुशासन, भावनात्मक सन्तुलन र सामाजिक चेतना केवल साना बच्चालाई चाहिने गुण हुन् ।
वास्तवमा यी गुण त कक्षा १२ सम्म मात्र होइन, जीवनभर आवश्यक हुन्छन् । यदि मन्टेश्वरीका सिद्धान्तहरू उच्च कक्षामा पनि लागू गर्न सकियो भने, हामी केवल दक्ष विद्यार्थी होइन, सक्षम मानव तयार गर्न सक्छौं ।
आज बढ्दो आत्महत्या, मानसिक तनाव, असन्तुष्टि र निराशाको कारण केवल व्यक्तिगत कमजोरी होइन, यो आधारको कमी हो । बाल्यकालमा भावनालाई व्यक्त गर्न नपाएको, ‘नो’ भन्न सिक्न नपाएको, आफ्नो सीमाना चिनाउन नपाएको बच्चा ठूलो भएपछि पनि अरूको अपेक्षाको बोझमा थिचिन्छ । मन्टेश्वरी र समग्र दृष्टिकोणले बालकलाई आफ्नै भावना बुझ्न, व्यक्त गर्न, निर्णय लिन र आफ्नो मूल्य चिन्न सिकाउँछ । यही आत्मसम्मान जीवनको सबैभन्दा बलियो आधार हो ।
अभिभावकहरू आज व्यस्त छन्, समयको अभाव छ, तर बच्चालाई ज्ञानभन्दा बढी ध्यान चाहिन्छ । उपस्थितिभन्दा महँगो उपहार केही हुँदैन । विद्यालयले पनि अब व्यापारिक सोचभन्दा बाहिर निस्केर मूल्यमा आधारित शिक्षा दिनुपर्ने समय आएको छ । शिक्षकले पनि सिलाबस पूरा गर्ने हतारभन्दा पहिले बालकको मन पढ्न सिक्नुपर्छ । शिक्षा भनेको केवल भविष्यको तयारी होइन, यो वर्तमानमा स्वस्थ जीवन जिउन सिकाउने प्रक्रिया हो ।
आजका बच्चा अघिल्लो पुस्ताभन्दा फरक छन् । उनीहरू सूचना युगमा जन्मिएका छन्, धेरै कुरा देख्छन्, धेरै कुरा महसुस गर्छन्। पुरानो सोच र नियन्त्रणमुखी शैलीले उनीहरूको मनोविज्ञान सम्हाल्न सक्दैन ।
हामीले उनीहरूलाई प्लेटफर्म दिनुपर्छ, एक्सपोजर दिनुपर्छ, र विश्वास गर्नुपर्छ कि सही वातावरण पाए उनीहरू आफैं सिक्छन् । मन्टेश्वरी यही विश्वासमा आधारित छ—बालक स्वभावैले सिक्ने प्राणी हो ।
यसैले मन्टेश्वरीलाई केवल स्कूलको नाम होइन, समाज परिवर्तनको दर्शनका रूपमा बुझ्न जरुरी छ । यदि हामीले समग्र विकासलाई शिक्षा प्रणालीको केन्द्रमा राख्यौं भने, हामी केवल डाक्टर, इन्जिनियर वा प्रोफेसनल मात्र होइन, संवेदनशील, आत्मविश्वासी र जिम्मेवार नागरिक तयार गर्न सक्छौं । बालक आज हाम्रो कक्षामा छन्, तर भोलि उनीहरू नै यो समाजको निर्णयकर्ता हुनेछन। उनीहरूको आधार कस्तो बनाउने जिम्मा आज हाम्रो हातमा छ ।
लेखक बेसीशहर नगरपालिका–७ स्थित न्यु भिजन मन्टेश्वरीको उप प्रधानाध्यापक समेत हुन् ।






