TagaroNews
माघमा लमजुङ महोत्सव हुने

लमजुङ - सदरमुकाम बेसीशहरमा लमजुङ महोत्सव आयोजना गरिएको छ । आउँदो माघ ८ देखि २० सम्म ९ औँ लमजुङ महोत्सव सञ्चालन हुनेछ । 

आयोजक लमजुङ उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । बेसीशहरको सहजी खेलमैदानमा हुने महोत्सव सञ्चालनका लागि अध्यक्ष भरतकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । 

यस्तै, अन्य १४ वटा उपसमिति गठन गरिएको छन् । महोत्सवमा २ सय बढी स्टल रहने छन् । 

महोत्सव सञ्चालनका लागि १ करोड २० लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । महोत्सवलाई डेढ लाख दर्शकले हेर्ने अपेक्षा गरिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले बताए ।

महोत्सवमा विपद कोष, आदर्श महिला तथा बालविकास केन्द्र, मानवसेवा आश्रम, सर्वोदय ज्येष्ठ नागरिक आश्रम र नेपाल पत्रकार महासंघ लमजुङको सचिवालय सञ्चालन गर्न २/२ रुपैयाँ गरी प्रतिटिकट १० रुपैयाँ सामाजिक सेवामा विनियोजन गर्ने आयोजकले जनाएको छ ।

यस्तै संघ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा पुस २६ गते स्वर्ण जयन्ती उत्सव समेत मनाउइने महासचिव विपिन श्रेष्ठले जानकारी दिए । 

स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगलाई आर्थिक रुपमा सशक्त र गतिशील बनाउने, मौलिक कला, संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको छ । 

मौलिक नाच, गीत, भेशभूषा र संस्कृति प्रदर्शनी, जडिबुटी र खाद्य परिकार प्रदर्शनी, धार्मिक तथा साँस्कृतिक झाँकी, खेलाडी र विद्यार्थीका खेल कौशल, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, खेलकुद साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखिने आयोजकले जनाएको छ । 

यो पनि..

८ औँ लमजुङ महोत्सवको हिसाव १९ महिनापछि सार्वजनिक

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update