काठमाडौं - पूर्वमन्त्री गोविन्दराज जोशीले सबै कैद छुट पाएका छन् । विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनी अब जेल बस्नुनपर्ने भएको हो ।
ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए । शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले कैद सजाय छुटको आदेश दिएको हो ।
७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुट पाउने व्यवस्था छ । अख्तियारको अनुसन्धानका क्रममा पहिल्यै ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद छुटको माग गर्दै निवेदन दिएका थिए ।
आदेश बहुमतबाट भएको थियो । कारागारमा रहेकाले निवेदन दिएपछि छुट पाउने कि, कारागार नै नबसेकाले निवेदन दिएपछि पनि छुट पाउने भन्नेमा न्यायाधीहरूबीच राय बाझिएको थियो ।
न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएका थिए।कारागारमा बसेकाले मात्रै निवेदन दिनुपर्ने राय न्यायाधीश रावलको थियो ।
जोशीलाई ०६९ साउन १० गते विशेष अदालतले १ वर्ष ६ महिना कैद र दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो। त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेषको फैसला केही उल्ट्याउँदै ०८१ साउन १३ गते ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो। सर्वोच्च अदालतबाट कैद र जरिवाना तोकिए पनि उनले सजाय भुक्तान गरेका थिएनन् ।
नेपाली कांग्रेसको पूर्वसहमहामन्त्रीसमेत रहेका उनी तनहुँको भानु नगरपालिका–११, रुपाकोट खाल्टेका बासिन्दा हुन् । उनले पछिल्लो समय छुट्टै समूह सञ्चालन गर्दै आइरहेका छन् ।





