TagaroNews
कांग्रेस लमजुङ पालिका अधिवेशनः ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

लमजुङ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङका ८ स्थानीय तहमध्ये ६ वटा पालिकाको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको छ । 

अधिवेशन भएका ६ वटै पालिकामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको नेपाली कांग्रेस लमजुङले जनाएको छ ।

सहमति र आन्तरिक एकतालाई जोड दिँदै जिल्लाका ६ वटा गाउँपालिका तथा नगरपालिकामा निर्विरोध रूपमा नयाँ कार्यसमिति चुनिएको कांग्रेस जिल्ला सचिव कृष्णबहादुर अधिकारीले बताए ।

जसअन्तर्गत बेसीशहर नगर कार्यसमितिको सभापतिमा पूर्ण बहादुर थापा (अर्जुन) चयन भए ।

यस्तै मर्स्याङ्दी गाउँ कार्यसमितिको सभापतिमा लोकनाथ घिमिरे, दुधपोखरी गाउँ कार्यसमितिको सभापतिमा कमलप्रसाद धिताल र दोर्दी गाउँ कार्यसमितिको सभापतिमा लाल बहादुर गुरुङ निर्विरोध भए ।

यता सुन्दरबजार नगर कार्यसमितिको सभापतिमा उत्तम गुरुङ र क्व्होलासोथर गाउँ कार्यसमितिको सभापतिमा राजु गुरुङ चयन भएका छन् । 

बाँकी रहेका दुईवटा पालिका राईनास र मध्यनेपाल नगरपालिकामा भने केही प्राविधिक तयारी र आन्तरिक परामर्श जारी रहेकाले बिहीबार मात्र नेतृत्व चयन प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ । 

वडा अधिवेशनबाट उत्साहजनक रूपमा चुनिएका क्षेत्रीय प्रतिनिधिहरूले यस पालिका अधिवेशनमा सहभागी भई नयाँ नेतृत्व चयन गरेका हुन् । 

यो सर्वसम्मतिको अभ्यासले आगामी असोज १० गते हुने प्रदेश सभा क्षेत्र तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशनका लागि समेत सकारात्मक सन्देश दिएको कांग्रेस वृत्तमा चर्चा छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update