मनाङ - मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल (७,१२६ मिटर) मा आइतबार खसेको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका दुई जनाको शव सोमबार हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
यसैबिच, पहिरोका कारण सम्पर्कविहीन भनिएका ११ जना सदस्यहरू हिँडेर सुरक्षित रूपमा फू गाउँ आइपुगेका छन् ।
बिहानैदेखि उद्धार टोली परिचालन
आइतबार खटिएका ३ जना विज्ञ उद्धारकर्मीबाहेक सोमबार बिहान प्रभु एयरको हेलिकप्टरमार्फत थप ३ जना अनुभवी गाइडहरूको टोली घटनास्थल पुगिसकेको छ ।
मनाङको आकास सोमबार बिहानैदेखि पूर्ण रूपमा खुलेको र बादलको टुक्रासमेत नभएकाले प्रभु एयरको हेलिकप्टरमार्फत हवाई र स्थलगत खोजी कार्य निकै सहज बनेको छ ।
बेपत्ताको यकिन संख्या अज्ञात
पहिरोमा अझै केही किचेन स्टाफ र सहयोगीहरू बेपत्ता रहेको आशङ्का गरिए पनि फरक–फरक एजेन्सीहरूबाट तथ्यांक आइरहेकाले यकिन संख्या खुल्न बाँकी रहेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अनुभवी गाइडहरूको नेतृत्वमा फेला पर्न बाँकी अन्य बेपत्ता नागरिकहरूको खोजी कार्य घटनास्थलमा तीव्र पारिएको छ ।
यो पनि..
मनाङको हिमलुङ हिमपहिरो अपडेटः दुई पर्वतारोहण गाइडको शव फेला, १४ सहयोगी अझै बेपत्ता
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन




