TagaroNews
राष्ट्रिय फुटबल टोली अभ्यास खेलका लागि मनाङमा  
राष्ट्रिय फुटबल टोलिलाई लमजुङमा गरिएको स्वागत ।

लमजुङ – एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली तयारी अभ्यासमा जुटेको छ । 

अभ्यास खेल हिमाली जिल्ला मनाङमा हुँदैछ । अष्ट्रेलियाका फुटबल प्रशिक्षक म्याट रसको राष्ट्रिय टोलीसँग यो तेस्रो अन्तर्राष्ट्रिय खेल हुने भएको हो । 

अभ्यास खेलका लागि नेपाली टोली बिहिबार मनाङ उक्लिएको छ । टोलीले जुन १० मा लाओसविरुद्ध समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश साहले बताए । उनका अनुसार लाओसको मौषम अनुकुल हुनका लागि मनाङमा अभ्यास गराउन लागिएको हो । 

मनाङमा हुने अभ्यास खेलका लागी आएको पूरुष राष्ट्रिय फुटबल टोलिलाई लमजुङमा बिहिबार दिउँसो औपचारिक स्वागत गरिएको छ । बेसीशहर नगरपालिका र एन्फा लमजुङले संयुक्तरुपमा फुटबल प्रशिक्षक, म्यानेजर एवं खेलाडीहरुलाई औपचारिक स्वागत गरेको एन्फा लमजुङका अध्यक्ष लोकेन्द्र गुरुङले बताए । 

टोलिले एक सातासम्म मनाङका विभिन्न स्थानमा खेल अभ्यास गर्नेछ् । नेपाली टोली छनोटअन्तर्गत समूह एफमा रहेको छ । यसअघि पहिलो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले अब लाओस, भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । भियतनामसँग भने अक्टोबर ९ मा खेल्नेछ ।

छनोटअन्तर्गत समूह चरणको पहिलो खेल मलेसियासँग खेलिसकेको नेपालका लागि लाओसविरुद्धको खेल अहम हुने प्रवक्ता शाहले जानकारी दिए ।

अभ्यासका लागि प्रशिक्षक रसले अन्तिम ३० जना खेलाडीलाई प्रशिक्षणमा राखेका छन् । प्रवक्ता शाहका अनुसार प्रशिक्षक रसले सोही प्रशिक्षणबाट टोलीलाई अघि बढाउनेछन् ।

छनोट खेलपूर्व नेपाली टोलीले जुन ५ मा हङकङगमा समेत मैत्रीपूर्ण खेलमा सहभागिता जनाउनेछ । फिफा विन्डोअन्तर्गत हंगकंगविरुद्ध भने यो दोस्रो मैत्रीपूर्ण खेल हुने उनको भनाइ छ । २०४५ सालमा पहिलोपटक दुवैबीच खेल हुँदा नतिजा भने गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update