लमजुङ – यसबर्ष ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा देशभरबाट १६ टिम भिड्दै छन् । पुस १२ गतेबाट हुने प्रतियोगीताको तयारी तिब्र पारिएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
आयोजक क्लबले शुक्रबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै ३३ औँ त्रिवेणी कप (ट्रफी) सार्वजनिक सँगै फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो ।
यसबर्ष प्रतियोगितामा काठमाडौंस्थित चित्लाङ फुटबल क्लब, न्यूरोड फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, विभागीय टीम एपीएफ, सातदोबाटो फुटबल क्लब र टोखा भगवती फुटबल क्लब आमन्त्रित रहने क्लवका अध्यक्ष टेकजंग गुरुङले बताए ।
प्रतियोगितामा आयोजक त्रिवेणी, लमजुङ मर्स्याङ्दी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी युवा क्लब नाल्मा, लालीगुराँस युवा क्लब भुजुङ, ठडाराई अधिकारी समाज दिहीथोक, सूर्यपुर फुटबल क्लब चितवन, चक्रपथ युथ क्लब काठमाडौं, रड्स रामपुर फुटबल क्लब रामपुर चितवन र समाज कल्याण युवा क्लब काठमाडौंले खेल्नेछन् ।
आयोजक क्लबका अनुसार आमन्त्रित टीम व्यवस्थापनका लागि १७ लाख रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ ।
सहजी खेलमैदानमा हुने प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्रसहित विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५/२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा गतवर्ष सेमीफाइनलमा पराजित २ टीमलाई २/२ लाख रुपैयाँ दिँदै आएकोमा यसवर्षदेखि उक्त व्यवस्था हटाइएको छ ।
त्रिवेणी साँझसमेत गरी प्रतियोगिता सञ्चालनका लागि १ करोड ३२ लाख ३५ हजार रुपैयाँ लाग्ने अनुमान क्लबले गरेको छ ।







