
लमजुङ – राष्ट्रकवि माधव प्रसाद घिमिरको जन्मथलो मर्स्याङ्दी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा पूर्णकदको शालिक निर्माण गरिएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण गरे ।
राष्ट्रकविको जन्मस्थानमा बनेको पार्क र शालिकले यहाँको महत्व र गरिमा बढ्नुको साथै समग्र भाषा साहित्य प्रेमीका लागी आकर्षक गन्तव्यस्थलको रूपमा विकास हुने राष्ट्रपति पौडेलले बताए ।
यही सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसादको जन्म भएको र नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल भएको धारणा राखे ।
राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए । भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको उनको भनाइ छ ।
‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ’, राष्ट्रपति पौडेलले भने ।
राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा आयोजित कार्यक्रमलाई गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले सम्बोधन गरे ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले राष्ट्रकवि माधव घिमिरे, वीर भक्ति थापा र भूगोलविद् हर्क गुरुङ जस्ता मुर्धन्य व्यक्तिहरूको जन्मले पालिकाको छुट्टै महत्व र विशेषता बढेको बताए ।
गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट ४ लाख र मर्स्याङ्दी गाउँपालिकाबाट ३ लाखको सहयोगमा पार्कको संरचना निर्माण गरिएको राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेले जानकारी दिए ।
उद्यानमा राष्ट्रकविको जीवन दर्शन, साहित्य साधना र राष्ट्रिय योगदानको प्रतीक राखिएको उद्यान निर्माण उपभोक्ता समितिका सचिव विष्णु गुरुङले बताए । उनका अनुसार राष्ट्रकविले बाल्यकालमा खेल्नेबस्ने गरेको उपलटाउको चौतारा संरक्षण समेत भइरहेको छ ।
राष्ट्रकवि माधव घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको मर्स्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो ।
नेपाली साहित्यमा गम्भीर साधनारत रहेका घिमिरेले कविता, गीत, गीतिनाटक, निवन्ध, नाटक, बालसाहित्य लगायत विधामा विशिष्ट योगदान दिएका थिए । जीवनकालभरि उनले साहित्य सेवा मार्फत राष्ट्रिय भावनालाई सशक्त बताएका थिए । ‘गौरी’, ‘मालती मङ्गले’, ‘राजेश्वरी’, ‘अन्तरक्रिया’, ‘भारती’, ‘सकुन्तला’लगायत कृतिहरू आज पनि नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन् ।