TagaroNews
मर्स्याङ्दी बेँसी हाइड्रो बन्नै नहुने भन्दै किन उर्लीय बेसीशहरबासी ?
स्थानीयद्धारा बेसीशहरमा निकालिएको विरोध र्‍याली । तस्वीर : तगारोन्युज

लमजुङ - सदरमुकाम बेसीशहरमा बिहिबार ५० मेगावाट मर्स्याङ्दी बेँसी जलविद्युत आयोजना बन्नै नहुने भन्दै एकसूत्रीय माग राखेका समूह उर्लीय । 

‘मर्स्याङ्दी बचाऔं’ संघर्ष समिति नै खडा गरेका स्थानीयले सोहि समितिको अगुवाइमा विरोध र्‍याली निकाले । 

विरोध र्‍यालीमा राजनीतिक दलका नेता, जनप्रतिनिधि समेत देखा परे । मनाङे चौतारादेखि सुरु भएको र्‍याली भीमसेनस्थान, नारायणस्थान, जिल्ला प्रशासन, दनाईंफाँट, शेरा चोक हुँदै पुनः भीमसेनस्थान पुगेर सभा गरे । 

सो सभामा चर्कदै संघर्ष समितिका संयोजक रामबहादुर थापाले आयोजना निर्माण हुन नदिने एकसूत्रीय माग राखेर अघि बढेको सुनाए । उनले भने, ‘हाम्रो माग मर्स्याङ्दीमा यो आयोजना बनाउनै पाइँदैन भन्ने हो, भोलि अर्को आयोजना आए पनि हाम्रो माग सोहि हुनेछ ।’

उनले थपे, ‘हामी हाम्रो मागमा एक इन्च तलमाथि हुँदैनौं । बरु ज्यान जाला, मर्स्याङ्दीमा आयोजना बन्न दिँदैनौं ।’ उनी गर्जीए । समर्थकहरुले ताली पिटे ।

यो आयोजना निर्माण गरे धर्म, संस्कृति, संस्कार र मानव सभ्यता नष्ट हुने, पानी र त्यसको स्रोत बन्द हुने, प्राकृतिक सौन्दर्य हराउने र स्थानीयको जीविकोपार्जन खोसिने स्थानीयको तर्क छ । 

अत्यधिक भू–क्षय एवम् पहिरो जाने, वातावरणको प्राकृतिक जीवनचक्र बिग्रने, नदी नहुँदा वरपर तापक्रम वृद्धि हुने, अल्प वृष्टि र अति वृष्टि हुने, वातावरणीय प्रणाली असन्तुलन हुने हुँदा हिमताल विस्फोट र ठूलो बाढी आउँदा बाँध फुटेर धनजनको क्षति हुने समेत उनीहरुले बताए ।

नदीमा निर्भर पर्यटन लगायत व्यवसाय बन्द हुने, पानीमा आश्रित जीवको जीवन समाप्त हुने, सुन्दर प्रकृति हराउने, ठूला मेसिन तथा विस्फोटले भूवनावटमा असर पुग्ने, जमिन सुक्खा र रुखो हुँदा बस्ती खण्डहर र मरुभूमिमा परिणत हुनेमा उनीहरुले एकस्वर बिरोध जनाए ।

यस जलविद्युत आयोजना निर्माण हुन नदिने भन्दै स्थानीयले २७ सदस्यीय मर्स्याङ्दी बचाऔं संघर्ष समिति समेत गठन गरेका छन् ।  सो समितिले आयोजना निर्माण गरे हुन सक्ने १४ वटा असरलाई फ्लेक्स प्रिन्ट नै बनाएर बेसीशहरका चोक–चोकमा टाँगेका छन् ।

आयोजना निर्माण ठप्प पार्ने हेतुले चोक चोकमा हस्ताक्षर संकलन अभियान नै चलिरहेको छ । 

सो संघर्ष समितिको अभियानलाई एक वक्तव्य निकालेर कांग्रेस जिल्ला कार्य समिति र राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले समर्थन जनाएको छ । 

यता आयोजना पक्षले भने, आयोजना निर्माणको काम तत्कालका लागि बन्द गरिसकेको छ । 

यो पनि..

स्थानीयको बिरोधपछि मर्स्याङ्दी बेसी निर्माणको काम बन्द

ट्रोयर एजीलाई ५० मेगावाटको मर्स्याङ्दी बेसी निर्माणको ठेक्का, प्रतिरोधमा स्थानीय

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update