TagaroNews
स्थानीयको बिरोधपछि मर्स्याङ्दी बेसी निर्माणको काम बन्द 

लमजुङ – स्थानीयले बिरोध गरेपछि ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणको काम बन्द भएको छ । 

दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत बेसीशहर नगरपालिका–६, बेलौती बिसौनामा निर्माण गर्न लागिएको यस आयोजनाको काम स्थानीयको बिरोधका कारण तत्कालका लागि बन्द गरिएको आयोजनाको प्रोजेक्ट म्यानेजर उमेश नेपालले बताए । 

उनले भने, ‘आयोजनाको साइट क्याम्प र लेबर क्याम्प निर्माण लगाएतका काम तत्काल अघि बढेको थियो । सो काम पनि स्थानीयको बिरोधका कारण तत्काललाई बन्द गरिएको छ । लगत्तै निर्माणको कार्य थालनी गर्ने योजना रहेपनि अहिले सबै काम रोकिएको अवस्था छ । हामी स्थानीयहरुसँग बर्तामै छौँ ।’

यस आयोजना निर्माणको बिषयमा स्थानीयसँगै सरोकारवाला निकायसँग पटक–पटक छलफलमा रहेको र पुनः छलफल पश्चात आयोजनाका कार्य अघि बढ्ने उनले जानकारी दिए । 

उल्लिखित काम पूरा भएको हुँदा मंसिर ५ गतेबाट आयोजनाको मुख्य निर्माण कार्य सुरु गर्ने आयोजनाको लक्ष्य थियो । 

बेलौती बिसौनामा आयोजनाको जलाशय र बेसीशहर नगरपालिका–१०, सालडाँडामा विद्युत गृह रहने गरी ५० मेगावाटको आयोजना निर्माण गर्न लागिएको हो ।

०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात ०७५ भदौ १० मा आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । 

आयोजनाको वातावरणीय, सामाजिक, सांस्कृतिक लगायत पक्षको गहन अध्ययन गरिएको हुँदा प्रभावित क्षेत्रहरू स्पष्टरूपमा किटान भएको र ती क्षेत्रमा पर्ने असरको रोकथाम एवम् न्यूनीकरण गर्ने कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको कम्पनीका कार्यकारी निर्देशक सञ्जिव न्यौपानेले बताए । 

उनले भने, ‘इआइएको प्रावधानअनुसार सामाजिक उत्तरदायित्वका सन्दर्भमा सम्बन्धित निकायसँग छलफल तथा परामर्श गरेरै कार्य गर्ने पक्षमा कम्पनी अडिग छ । निर्माण क्रममा स्थानीय स्रोत–साधन तथा जनशक्तिको अधिकतम सदुपयोग गर्ने योजना छ ।’

करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवद्र्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट प्रवाह हुने छ । आयोजनाबाट साढे दुई वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिने छ ।

यो पनि..

ट्रोयर एजीलाई ५० मेगावाटको मर्स्याङ्दी बेसी निर्माणको ठेक्का, प्रतिरोधमा स्थानीय

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update