TagaroNews
फोहोर व्यवस्थापनमा बेसीशहर नगरपालिकालाई एक महिने अल्टिमेटम

लमजुङ - बेसीशहर नगरपालिका–८ स्थित कर्पुरेश्वर टोल विकास समितिले फोहोर व्यवस्थापन, विकाससँग सम्बन्धित समसामयिक विषय तथा कर्पुरेश्वर महादेव मन्दिर संरक्षणका विषयमा छलफल गर्दै सम्बन्धित निकायलाई एक महिनाभित्र समस्या समाधान गर्न अल्टिमेटम दिएको छ।

समितिले मस्र्याङ्दी नदी किनारमा रहेको फोहोर व्यवस्थापनको समस्या समाधान हुन नसक्दा कर्पुरेश्वर महादेव मन्दिर, कर्पुरेश्वर पार्क तथा आसपासको क्षेत्रमा दुर्गन्ध फैलिएको र स्थानीय बासिन्दाको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर परेको जनाएको छ।

नगरपालिकालाई यसअघि पटक–पटक मौखिक रूपमा जानकारी गराउँदा पनि उचित व्यवस्थापन नभएको भन्दै समितिले असन्तुष्टि व्यक्त गरेको छ।

बैठकले २०८३ असार २१ गतेसम्म उचित फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायलाई समय दिने निर्णय गरेको छ। तोकिएको अवधिभित्र समस्या समाधान नभए नगरपालिका, सम्बन्धित कार्यालय, संघसंस्था तथा जनप्रतिनिधिलाई लिखित ध्यानाकर्षण (ज्ञापनपत्र) बुझाउने निर्णय पनि गरिएको समितिले जनाएको छ।

समितिले मस्र्याङ्दी नदी, कर्पुरेश्वर महादेव मन्दिर र आसपासको क्षेत्रको स्वच्छता तथा संरक्षणका लागि स्थानीय सरकारसहित सबै सरोकारवाला पक्षले जिम्मेवारीपूर्वक पहल गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update