TagaroNews
मर्स्याङ्दी बेँसी हाइड्रो बन्नुपर्ने माग सहित अति प्रभावितले बुझाए ध्यानाकर्षणपत्र
प्रजिअ समक्ष ध्यानाकर्षणपत्र बुझाउँदै अति प्रभावित क्षेत्रका बासिन्दा ।

लमजुङ - ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका-१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।

दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको यस जलविद्युत आयोजनाको काम बेसीशहरबासीको अबरोधका कारण निर्माण कार्य बन्द भएको छ ।

आयोजना निर्माणको काममा भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग सहित अति प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार प्रमुख जिल्ला अधिकारी र बेसीशहर नगरपालिका प्रमुख समक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।

उक्त पत्रमा जलविद्युत आयोजनाले अति प्रभावित क्षेत्रका बासिन्दाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले आयोजना निर्माण हुने विषयमा सहमति रहेको विषय उल्लेख गरिएको छ ।

'मुलुकसँगै जिल्लाको आर्थिक र समृद्धिको आधार स्तम्भ जलविद्युत आयोजना हो, यो अवरुद्ध हुनु गम्भीर विषय हो । जलविद्युत कम्पनीले अति प्रभावित क्षेत्रका बासिन्दाको माग र मुद्दालाई सम्बोधन गरि आयोजना सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । यो विषयमा हामी सहमत छौं । आयोजनाको काम सञ्चालन गर्न जिल्ला प्रशासन मार्फत तदारुकता जनाइदिन अनुरोध गर्दछौं ।' पत्रमा भनिएको छ ।

जलविद्युत आयोजना निर्माण कार्य सुचारु गर्ने जिल्ला प्रशासनको कदमप्रति अति प्रभावित क्षेत्रका बासिन्दा साथमा रहने समेत उल्लेख गरिएको छ ।

बेसीशहर नगरपालिका-६, बेलौती बिसौनामा आयोजनाको जलाशय र बेसीशहर नगरपालिका-१०, सालडाँडामा विद्युत गृह रहने गरी ५० मेगावाटको आयोजना निर्माण गर्न लागिएको हो ।

०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात ०७५ भदौ १० मा आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । 

यो पनि..

मर्स्याङ्दी बेँसी हाइड्रो बन्नै नहुने भन्दै किन उर्लीय बेसीशहरबासी ?

स्थानीयको बिरोधपछि मर्स्याङ्दी बेसी निर्माणको काम बन्द

ट्रोयर एजीलाई ५० मेगावाटको मर्स्याङ्दी बेसी निर्माणको ठेक्का, प्रतिरोधमा स्थानीय

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update