पोखरा - गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि करार सेवामा कार्यरत कर्मचारीलाई स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराउने भएको छ ।
आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै संघ सरकारले कर्मचारीको तलब वृद्धि गरेअनुसार प्रदेशले पनि करार कर्मचारीको मनोबल उच्च बनाउन साउनदेखि स्थायीसरह महँगी भत्ताको व्यवस्था गरिएको बताए ।
‘करार सेवामा कार्यरत कर्मचारीको मनोबल उच्च बनाउन आगामी साउनदेखि स्थायीसरह महँगी भत्ताको व्यवस्था गरेका छौँ,’ उनले भने ।
यद्यपि प्रदेश सरकारले चालु खर्च भने अघिल्लो वर्षको तुलनामा घटाएको छ । आगामी आर्थिक वर्षका लागि विनियोजित ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ (३८.५६ प्रतिशत), पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ (६०.६८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ (०.७६ प्रतिशत) छुट्याइएको छ ।






