चितवन - चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। आगलागीको कारण र मृतकको पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३ ०८:३३
प्रतिक्रिया दिनुहोस्




