
लमजुङ– डुम्रे–बेसीशहर सडक खण्ड अन्तर्गत उदिपुर पहिरोको व्यवस्थापन कार्य तत्काल अघि बढाइने भएको छ । बेसीशहर नगरपालिका–१ स्थित उदिपुर देउराडी डाँडाँको पहिरो व्यवस्थापनका लागी स्लोप ट्रिमिङ र टेवा पर्खाल निर्माणकार्य शुक्रबारबाट अघि बढ्ने भएको हो ।
सो स्थानको कमजोर भु–वनावटका कारण सडक सुरक्षालाई ध्यानमा राखेर शुक्रबार देखी जेठ पहिलो साता सम्म सडक आंशिक रुपमा बन्द गरी मर्मत सम्भारकार्य गरिने छ । डुम्रे बेसीशहर चामे सडक योजनाले बिहिबार एक सुचना जारी गर्दै पहिरो क्षेत्रमा सडक खुल्ने र बन्द हुने समयको समेत तालिका सार्वजनीक गरेको छ ।
सडक योजनाले जारी गरेको सुचना अनुसार बिहान ४ बजे देखी ७ बजेसम्म ३ घण्टा सडक बन्द रहनेछ । ७ देखी ८ बजेसम्म १ घण्टा सडक खुल्नेछ भने, पुन ८ देखी ११ बजेसम्म सडक बन्द गरी निर्माण कार्य चल्नेछ ।
यस्तै ११ बजे देखी १२ बजेसम्म १ घण्टा पुन सडक खुलाइने छ् भने, दिउँसो १२ बजेदेखी अपराहन्न साँढे ४ बजेसम्म साढे ४ घण्टा सडक बन्द रहनेछ । त्यस्तै पुनः ४ः३० देखी ५ः३० सम्म सडक १ घण्टा खुल्नेछ भने, ५ः३० देखी ७ बजेसम्म डेढ घण्टा सडक बन्द गरिनेछ । बेलुका ७ बजेदेखी बिहान ४ बजेसम्म भने, सडक सुचारु रहने छ ।
उक्त अवधिमा मालवाहक सवारी साधनलाई उदिपुर बजारमा पूर्ण रुपमा रोक लगाउने र यात्रुबहाक सवारी साधन भने, उदिपुर रिठ्ठेबगर जोड्ने चण्डिप्रसाद गणको डाइभर्सनबाट सञ्चालनमा आउनेछन् । रोकिएका मालवहाक साधनलाई सडक खुल्ने समयमा मात्र प्रवेश गराइने सडक योजनाले जनाएको छ ।
पहिरो सहित सडक मर्मतको काम फेवा कन्ट्रक्सन पोखराले गर्दैछ । भ्याट सहित १३ करोड ६५ लाखमा मर्मत गरिने यस पहिरोको २२ महिना अर्थात ०८१ साल माघ महिनासम्म काम सक्ने गरी सम्झौता भएको सडक योजनाका इन्जिनियर एवं सुचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
सुख्खायाममा दैनिक खस्ने पहिरो समयमै व्यवस्थापन हुन नसक्दा स्थानीय, यात्रु र सवारीले पाउनुसम्मको सास्ती भोग्दै आएका छन् । गतबर्ष पहिरो लगतै डुम्रे–बेसीशहर–चामे सडक योजनाले अध्ययन गरी सडक निमार्णका लागी ठेक्का आव्हान गरेको थियो । ८ करोडको लागत अनुमान गरी खुलाएको ठेक्कामा कुनै फर्म नै परेन । पुनःअसारको थप पहिरोले क्षेत्रफल बढाउँदा झन जोखिम बढ्यो । पुनःकरिब २० करोड लागतको ठेक्का खुलाइएपनि एक मात्रफर्मको ठेक्का परेकोले प्रतिस्पर्धाका लागी अहिले पुनःठेक्का खुलाइएको हो ।