
मनाङ – मनाङको बिकटमा रहेको नार्पाभूमि गाउँपालिकामा अहिलेसम्म सडक सुविधा पुगेको छैन् । सडकको सुविधा नपुगेपछि सवारी साधनहरु चल्ने त कुरै भएन । सडक सुविधा नहुँदा सबैभन्दा समस्या स्थानीय बिरामी पर्दा हुने गरेको छ । समान्य बिरामीलाई त जसोतसो सदरमुकाम चामे झार्न सकिन्छ तर, गम्भिर बिरामीले थलिएकाहरु महङ्गो खर्चमा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।
गम्भीर वा जटिल प्रकृतिका बिरामीलाई पोखरा, चितवन, काठमाडौँ लगाएतका स्थानका अस्पताल लैजान हेलिकप्टर चार्टर बाहेक अन्य विकल्प नै छैन् । यस समस्यालाई मध्यनजर गर्दै नार्पाभूमि गाउँपालिकाले हेलिकप्टर मार्फत बिरामी लैजादा कुल भाडाको ५० प्रतिशत खर्च ब्यहोर्ने निर्णय गरेको छ ।
स्थलमार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर नै आधा खर्च पालिकाले व्यहोर्न थालेको गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले बताए । उनले भने, ‘पालिकाबासी सबैै हेलिकप्टर चार्टर्र गर्न सक्षम हुँदैनन, छैनन् पनि, विपन्न नागरिकहरुलाई उपचार तथा स्वास्थ्यको पहुँचमा पुर्याउन यो निर्णय गरेका हौँ ।’
हालसम्म पालिकाले सात गम्भीर तथा जटिल प्रकृतिका बिरामीलाई ५० प्रतिशत खर्च व्यहोरेर हेलिकप्टर चार्टर मार्फत उपचारका लागि अस्पतालसम्म पुर्याएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए ।
पालिकाको यो निर्णयप्रति स्थानीय निकै खुसी छन् । जिल्लामा उपयुक्त स्वास्थ्य सेवा नहुँदा यो पालिकासँगै सिंगो मनाङबासी नै समस्यामा परेका छन् । मनाङ भित्रने पर्यटकहरुलाई समेत समस्या भएको छ । जिल्ला अस्पतालमा समेत उपयुक्त कर्मचारी र सेवा नहुँदा जिल्लाबासीहरु लमजुङ हुँदै काठमान्डौँ पोखरा धाउँदै आएका छन् ।