
मनाङ – अविरल वर्षासँगै आएको पहिरोले ३३ केभी वितरण लाइनमा क्षति पुर्याउँदा मनाङ सदरमुकाम चामे लगाएतका क्षेत्र तीन दिन देखी विद्युत सेवा अवरुद्ध भएको छ । गत बुधबार (जेठ १०) मा वर्षासँगै गएको पहिरोले मनाङ जिल्लाको ३३ केभी राधी–स्यार्क्यू प्रसारण लाइनमा क्षति पुर्याउँदा सेवा अवरुद्व भएको हो ।
जिल्लाको नासोँ गाउँपालिका–१ ताल नजिक पहिरो जाँदा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोले बताए । प्रमुख महतोका अनुसार बुधबार बेलुकी झरेको पहिरोले प्रसारण लाइनको पोल नै ढालेको र पहिरो सडकमै झरी बाटो र ३ ओटा पोलमा क्षति पुगेको छ । उनले भने, ‘अबरुद्ध सडक अहिले खुलेकाले टोली खटाएर मर्मतकार्य अघि बढेको छ । अन्य अवरोध केहि नभए आज साँझसम्म विद्युत सुचारु हुनेछ ।’
विद्युत सेवा अवरुद्ध हुँदा चामे गाउँपालिका १, २, ३ र ४ क्षेत्रका बासिन्दा, जिल्ला अस्पताल, मनाङ भित्रने पर्यटकलाई असहज भएको छ । साथै स्थानीय साना उद्योग, होटल व्यवसायीलाई असर परेको छ । चामेमा स्थानी लघुहाइड्रोले केहि काम चलेपनि तिमाङ क्षेत्रको स्थानीय लघु हाइड्रो मर्मत नभएकाले सेवा बन्द हुँदा समस्या भएको छ ।
मर्मतकार्य तिव्र रुपले अघि बढेकाले स्थानीयलाई आजै विद्युत सेवा उपलब्ध गराउने केन्द्र प्रमुख महतोले जानकारी दिए ।