
बेसीशहर- सरकारी सवारीसाधन सरकारी कामकाज बाहेक अरु प्रयोजनका लागि प्रयोग गर्न पाइदैन । तर लमजुङमा सरकारी मोटरसाइकल सिक्ने काममा दुररुपयोग गरेको पाइएको छ ।
बेसीशहर नपा– ८ दनाईफाँटमा रहेको लमजुङ कालिका ड्राइभिङ इन्स्टिच्यूटमा ग १ ब ३६२ नम्बरको मोटरसाइकल विना हेल्मेट दिनहुँ बेलुका करिब ५ः३० बजे देखि सिकिरहेको देख्न सकिन्छ । उक्त मोटरसाइकल नापी कार्यालय लमजुङको हो ।
दिनहुँ सरकारी मोटरसाइकल दुरुपयोग गरी सिक्ने व्यक्तिहरुको नाम भने खुलेको छैन् । सरकारी ढुकुटीबाट खरिद गरिएको मोटरसाइकल ड्राइभिङ इन्स्टिच्यूट भित्र मात्र नभएर शनिबार/शनिबार यहाँको सडकमा पनि सिकिरहेका हुन्छन् । सरकारी सम्पत्ति दुरुपयोग गर्नेलाई कारवाही हुनुपर्ने बेसीशहर नपा- ८ दनाईफाँटका एक स्थानीयले बताए।
यसबारे नापी कार्यालय लमजुङको प्रमुख हेलिना श्रेष्ठसँग बुझ्दा उनले भनिन् ‘मोटरसाइकल हाम्रै कार्यालयको हो । कार्यालयकै कर्मचारीले चलाउँछन् तर सिक्दै गरेको कुरा चाहिँ थाहा थिएन्, पक्कै पनि नयाँ कर्मचारी होला म बुझ्छु ।’