
लमजुङ– राइनास नगरपालिकामा सञ्चालित निशुल्क आँखा शिविरमा एक हजार भन्दा बढी नागरिक लाभान्वित भएका छन् । आँखा तथा मोतियाविन्दुको समस्या भएका नागरिकलाई शल्यक्रिया सहितको सेवा दिने उदेश्यले राइनास नगरपालिकाले ४ दिनसम्म निशुल्क आँखा शिविर चलाएको हो ।
आइतवार राइनासको –४ स्थित चक्रतिर्थ स्वास्थ्य चौकी र वडा नं. १० स्थित प्यारजुङ स्वास्थ्य चौकीमा शिविर चल्यो । त्यस्तै सोमवारदेखि राइनास– ८ तार्कुघाट स्वास्थ्य चौकीमा सुरु भएको शिविर बुधबार सकिदैछ । शिविरमा आँखा जाँच, स्क्रिनिङ सेवा सँगै औषधि तथा चस्मा वितरण गरिएको छ । तिनै स्थानमा भएको शिविरमा कुल १ हजार ५३ जनाले सेवा लिएको राइनास नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी प्रसाद सेढाईले जानकारी दिए ।
चक्रतिर्थ स्वास्थ्य चौकीमा ३ सय १३, प्यारजुङमा ८४ र तार्कुघाट स्वास्थ्य चौकीमा ६ सय ५३ जनाले सेवा लिए । सोमध्ये २ सय भन्दा वढीलाई चस्मा वितरण गरिएको छ । आँखा जाँच तथा स्क्रिनिङ क्रममा १ सय ६५ जनामा मोतियाविन्दुको समस्या देखा परेको भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. मारिया गौतमले बताए । मोतियाविन्दुको समस्या देखिएका विरामीहरुलाई निशुल्क शल्यक्रिया गरिएको छ ।
नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै भरतपुर आँखा अस्पतालको प्राविधक सहयोग र लायन्स क्लव अफ काठमाडौँ कञ्जनजङ्गको सहकार्यमा आँखा शिविर सञ्चालन गरेको नगरपालिका प्रमुख खड्ग बहादुर गुरुङले बताए ।