
सोलुखुम्बु — सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा खुम्बु पासाङल्हामु गाउँपालिका–५ छेसोका ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, सोही स्थानका २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा भनिने दा छिरि शेर्पा रहेका छन् । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरुको बुधबार बिहान मृत्यु भएको हो ।
बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।
प्रहरीका अनुसार बिहान ९ः३० बजे भएको यो घटनामा उनीहरुको खोजीका लागि तीनपटक सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।
यसपटक विभागले सगरमाथा आरोहणका लागि सोमबारसम्म २४ वटा आरोहण दललाई अनुमति दिइसकेको छ । यसमा ४१ महिलासहित २ सय ४३ जना सदस्य छन् । सोमबारसम्म विभागले २१ वटा हिमालका लागि ६६ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ । जसमा ५ सय ५९ जना छन् ।