
बेसीशहर - लमजुङ सदरमुकाम बेसीशहरमा बिहिबार दिउँसै सुन चोरी भएको छ । बेसीशहर नपा–७ स्थित जनविकास माविको गेट नजिकैको एक घरबाट दिउँसै सुन चोरी भएको हो ।
स्थानीय सन्त बहादुर तामाङको घरबाट बिहिबार दिउँसो ११ः३० देखी २ बजेको समयमा ८ तोला बढी सुन चोरी भएको देखिएको प्रहरीले जनाएको छ ।
सन्तबहादुर र उनकी साली टिकामाया श्रेष्ठको गरी ८ तोला बढी सुन चोरी भएको हो । तीन तले घरमा सन्तबहादुर दिउँसो सबैभन्दा माथिल्लो फल्याटको कोठमा सुतेका थिए । उनको छोरी र साली दिउँसो अफिस गएका थिए ।
दिउँसो आफु निद्रामा परेका बेला घरकै च्यानल गेटको चाबी फोडेर सुन चोरी भएको थाहा पाएपछि तत्काल उनले प्रहरीमा खबर गरेका थिए ।
सुन चोरीको घटनाबारे अनुसन्धान अघि बढाएको र चोरीमा संलग्नको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए ।
लमजुङमा पछिल्लो समय श्रृंखलाबद्ध रुपमा सुन चोरीको घट्ना घटिरहेको छ । सुन चोरीको आरोपमा बेसीशहरकी एक युवती यसअघि पक्राउ परेपनि उनलाई अदालतले ४ लाख धरौटीमा छोडेको छ ।