
सुन्दरबजार – लमजुङमा मध्यरातमा एक सहकारी चोरी गर्न खोज्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–७ बस्ने २८ बर्षिय रमेश प्रजा रहेका छन् ।
उनी सुन्दरबजार नगरपालिका– ७ फिलिमहल चोक नजिक एभरेष्ट वचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न आइतबार राती करिब पौने १२ बजे सहकारी प्रवेश गरेको थिए ।
यसबारे थाहा पाएको प्रहरीले स्थानीयको सहयोगमा प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । उनका अनुसार प्रजा स्कुड्राईभर र रड सहित सहकारी प्रवेश गरेका थिए ।
सहकारीमा चोरी गर्न पसेका प्रजालाई स्टोर रुममा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको इन्सपेक्टर चपाईले जानकारी दिए ।
पक्राउ परेका प्रजालाई सोमबार लमजुङ जिल्ला अदालतबाट चोरी उद्योग कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।